देशकै पुरानो लोकतान्त्रिक दल कांग्रेसभित्रको आन्तरिक विवाद विभाजनउन्मुख बनेको छ । कुनै नाटकीय राजनीतिक सहमति वा अप्रत्याशित घटनाक्रम विकसित नभए विभाजनलाई औपचारिकता दिन मात्र बाँकी छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस विभाजनतर्फ अघि बढे त्यसले लोकतान्त्रिक शक्तिहरूको एकता, आगामी निर्वाचनको राजनीतिक समीकरण तथा समग्र राष्ट्रिय राजनीतिक दिशामै गम्भीर प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ । यसै सन्दर्भमा कांग्रेस इतर पक्षका नेता विमलेन्द्र निधि र महामन्त्री गुरुराज घिमिरेसँग नयाँ पत्रिकाले गरेको संक्षिप्त कुराकानी:
अदालतले देउवालाई नै सभापतिको मान्यता दिएन भने विकल्प आउन सक्छ : विमलेन्द्र निधि (इतर पक्षका नेता)
राष्ट्रिय कार्यकर्ता भेला आह्वानसहित तपाईंहरूले विधान, राजनीतिक प्रस्ताव, संगठनात्मक ढाँचा तथा नीतिगत दस्ताबेज तयार गर्न छुट्टाछुट्टै समिति गठन गरिएको छ । नयाँ पार्टी गठनको तयारीस्वरूप यस्ता काम हुने गर्छन् । तपाईंहरूको तयारी यही हो ?
त्यो विषय २९ साउनमा हुने राष्ट्रिय भेलाले नै तय गर्छ । अहिले नै त्यसबारे निष्कर्ष सुनाउनु उचित हुँदैन, किनकि निर्णय गर्ने अधिकार भेलाकै हो । त्यसभन्दा अघि केही कानुनी र राजनीतिक प्रक्रिया पनि विचार गर्नुपर्ने हुन्छ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवालाई वैधानिक मान्यता दिने सर्वोच्च अदालतको निर्णयविरुद्ध पुनरवलोकनको निवेदन दर्ता भएको छ । हाम्रो विश्वास छ, पुनरवलोकनबाट देउवा नै सभापति कायम हुन सक्नुहुन्छ । यदि त्यस्तो भयो भने पार्टी विधानअनुसार उहाँ १५औँ महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्न पाउनुहुन्न । विशेष महाधिवेशन र नियमित महाधिवेशनसम्बन्धी मुद्दाको फैसला पनि आउन बाँकी छ । ती सबै प्रक्रियाको परिणामले पनि आगामी निर्णयलाई प्रभावित गर्छ । यदि देउवा नै सभापति रहने अवस्था बन्यो भने छुट्टै पार्टी गठनको आवश्यकता नपर्न सक्छ । तर, अहिलेको नेतृत्वले पार्टीभित्र एकताको वातावरण बनाउन खोजेको संकेत हामीले देखेका छैनौँ । त्यस्तो अवस्था आयो भने नयाँ कार्यदिशा वा नयाँ स्वरूपको विकल्प आउन सक्छ । त्यो के हुने भन्ने निर्णय भने राष्ट्रिय भेलाले नै गर्नेछ ।
नयाँ पार्टीको नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’ राख्ने तयारी भएको छ भन्ने चर्चा छ नि ?
त्यो पूर्ण रूपमा गलत सूचना हो । पार्टीको नामबारे कुनै निर्णय भएको छैन, छलफलसमेत भएको छैन । मैले पनि विभिन्न चर्चा सुनेँ कि दर्तासमेत भइसकेको छ । यदि त्यस्तो हो भने निर्वाचन आयोगको अभिलेखमै देखिनुपर्थ्यो । आयोगको वेबसाइटमा दर्ता भएका सबै दलको विवरण उपलब्ध छ । दर्ता होइन सहमति बनेको भनिएको छ, तर त्यस्तो छैन ।
नयाँ पार्टी बनेमा नेतृत्व बिपी कोइरालाका पुत्र डा. शशांक कोइरालाले गर्ने हुन् ?
डा. शशांक कोइरालालाई हाम्रो समूहको नेता घोषणा गरेका छौँ । समूहभित्र नेतृत्वका विषयमा मतभेद छ, सहमति छैन भन्ने टिप्पणी भइरहेका थिए । आजको निर्णयले ती सबै आशंका समाप्त गरेको छ । उहाँ अहिले हाम्रो समूहको नेता हुनुहुन्छ । त्यसपछि के हुन्छ भन्ने विषय समयले तय गर्छ ।
नयाँ पार्टी बने पनि सभापति उहाँ नै हुने हो ?
मैले अघि पनि भनेँ, अहिले त्यसबारे भन्न सकिँदैन । नयाँ पार्टी बन्छ वा बन्दैन भन्ने निर्णय नै २९ साउनको भेलाले गर्ने हो । अहिले अनुमानका आधारमा काल्पनिक निष्कर्ष निकाल्नु उचित हुँदैन । नयाँ पार्टी गठन भयो भने त्यसवेलै सबै कुरा सार्वजनिक हुन्छ । लुकाएर राखिने विषय होइन ।
आजको कार्यक्रममा पूर्णबहादुर खड्का र शेखर कोइराला उपस्थित देखिनुभएन । उहाँहरूको समर्थन छ ?
छ, सबैको सहमति छ । पूर्णबहादुर खड्का स्वास्थ्य समस्याका कारण उपस्थित हुन सक्नुभएन । शेखर कोइरालाले पनि सार्वजनिक रूपमा आफ्नो सहमति व्यक्त गरिसक्नुभएको छ । आजका सबै निर्णय सर्वसम्मत भएका हुन् ।
उहाँहरूको भेलाबारे जानकार छौँ, तर हाम्रो प्राथमिकता अन्तिमसम्म पार्टीलाई एकताबद्ध राख्ने नै हो : गुरुराज घिमिरे महामन्त्री
बिपी कोइरालाका पुत्र डा. शशांक कोइरालालाई नेता घोषणा गर्दै इतर पक्ष अघि बढेको छ । यही महिनाको अन्त्यमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएर नयाँ पार्टी गठनको तयारी भइरहेको चर्चा छ । संस्थापन पक्षले यसलाई कसरी लिएको छ ?
पार्टी विधान र निर्धारित प्रक्रियाअनुसार विशेष महाधिवेशन सम्पन्न भएर नेतृत्व परिवर्तन भएको हो । नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था देखिएपछि देशभरका पार्टी कार्यकर्ताको चाहनाअनुसार वैधानिक प्रक्रिया पूरा गरेर विशेष महाधिवेशन गरिएको थियो । त्यसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत वैधानिकता प्रदान गरिसकेका छन् । हामी अहिले विशेष महाधिवेशनमा सहभागी भएका र सहभागी नभएका सबै साथीहरूलाई एउटै ठाउँमा उभ्याएर १५औँ महाधिवेशन समयमै सम्पन्न गर्ने प्रयासमा छौँ । सभापतिज्यूले पनि विभिन्न नेतासँग भेटघाट गरेर उहाँहरूका धारणा सुन्नुभएको छ । उहाँहरूको राष्ट्रिय भेलाबारे हामीले पनि जानकारी पाएका छौँ । तर, हाम्रो प्राथमिकता अन्तिमसम्म पार्टीलाई एकताबद्ध राख्ने नै हो । अहिले देशले सामना गरिरहेका चुनौती हेर्दा कांग्रेस एकढिक्का हुनु आवश्यक छ ।
१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व र विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई समायोजन गरेर सहमतिमा १५औँ महाधिवेशन गर्न किन सकिँदैन?
यस विषयमा पनि सभापतिज्यूले आफ्नो तहबाट पहल गर्नुभएको छ । दुवै पक्षका प्रतिनिधि बसेर छलफल गर्ने समझदारी बनेको छ । तर, उहाँहरूले अहिलेसम्म आफ्ना प्रतिनिधि तोक्नुभएको छैन । हामी प्रतिनिधिसँग बसेर छलफल गर्न, सहमतिको आधारमा अघि बढ्न तयार छौँ । उहाँहरूले राख्नुभएका माग पनि सार्वजनिक भइसकेका छन् । तर, एउटा महाधिवेशन सम्पन्न भएर नयाँ कार्यसमिति आइसकेपछि पुरानो र नयाँ कार्यसमितिलाई एउटै संरचनामा समायोजन गर्ने विषय विधिसम्मत, उपयुक्त र व्यावहारिक हुन्छ कि हुँदैन भन्ने छलफलको विषय हो ।
हामी अधिकतम लचिलो र व्यावहारिक भएर सबैलाई समेट्ने पक्षमा छौँ । तर, विधान, १४औँ महाधिवेशनको म्यान्डेट र देशभरका कार्यकर्ताको भावनासमेत सम्मान गर्दै निश्चित सीमाभित्र रहेर निर्णय गर्नुपर्छ ।
उहाँहरूको दाबी छ– करिब आधा कांग्रेस बाहिर छ, त्यसैले विशेष महाधिवेशनले सिंगो कांग्रेसको प्रतिनिधित्व गर्न सक्दैन, तपाईंहरूको प्रतिक्रिया ?
विशेष महाधिवेशनका विषयमा पार्टीभित्र दुई धार देखिएका थिए । सहमत हुने साथीहरू महाधिवेशनमा सहभागी हुनुभयो, नेतृत्व परिवर्तनमा भूमिका खेल्नुभयो र नयाँ नेतृत्व चयन भयो । त्यसपछि यो विषय निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुग्यो । दुवैले वैधानिकता दिइसके । त्यसपछि सदस्यता अद्यावधिक प्रक्रिया अघि बढ्यो, जसमा देशभरका करिब ८०–८२ प्रतिशत सदस्य सहभागी भइसकेका छन् ।
त्यसैले बाहिर प्रचार गरिएजस्तो अवस्था होइन । तर, विशेष महाधिवेशनमा सहभागी नभएका साथीहरू बाहिर हुनुहुन्छ भन्ने सत्य हो । उहाँहरूलाई पनि साथमै लिएर १५औँ महाधिवेशनमा जाने हाम्रो स्पष्ट चाहना छ । अहिलेको राष्ट्रिय परिस्थिति हेर्दा सबैलाई एकताबद्ध गरेर अघि बढ्नु हाम्रो ऐतिहासिक दायित्व हो ।
त्यसो भए सहमति किन हुन सकेको छैन ?
वैधानिक र प्राविधिक रूपमा हामीलाई कुनै समस्या छैन । राजनीतिक रूपमा लामो समय पार्टीमा योगदान गर्नुभएका धेरै नेता अहिले बाहिर हुनुहुन्छ । उहाँहरूलाई पनि समेटेर साझा समझदारीमा पुग्नुपर्छ भन्ने हाम्रो धारणा हो । हामी विधानको संरक्षण, महाधिवेशनको सम्मान र नेतृत्व परिवर्तनको वैधानिकतालाई कायम राख्दै सबै मिलेर १५औँ महाधिवेशनको तयारीमा जुट्न चाहन्छौँ । महाधिवेशनसँग सम्बन्धित समितिमा सबैको सहभागिता सुनिश्चित गर्ने र साथीहरूलाई समेट्न सकिने अधिकतम प्रयास गर्न नेतृत्व तयार छ ।
महाधिवेशनमा सभापतिको प्रतिस्पर्धा गरेका सबै नेता अहिले बाहिर हुनुहुन्छ । तपाईंहरूको समूहबाट उम्मेदवार बन्नुभएका शेखर कोइरालालाई समेत विश्वासमा लिन सक्नुभएन नि ?
यो राजनीतिक प्रश्न हो, वैधानिक वा प्रक्रियागत होइन । निर्णायक अवस्थामा विधि र प्रक्रिया नै अवलम्बन गर्नुपर्छ । विधिको शासन स्थापित गर्न नेपाली कांग्रेसले आठ दशकभन्दा बढी संघर्ष गरेको छ । हामी लोकतान्त्रिक मूल्य र प्रक्रियाका पक्षधर हौँ । अरू दललाई पनि लोकतान्त्रिक मूलधारमा ल्याउन कांग्रेसले ऐतिहासिक भूमिका खेलेको छ । त्यसैले अरूलाई लोकतन्त्रको पाठ पढाउने कांग्रेसले आफ्नै घरभित्र विधि, प्रक्रिया र विधानको सर्वोच्चतालाई सम्मान गर्नुपर्छ । व्यक्ति होइन, विधान सर्वोच्च हुनुपर्छ । त्यसो नगरे अरूले हामीलाई लोकतान्त्रिक दलका रूपमा कसरी विश्वास गर्ने ?
राजनीतिक मतभेद छन् भने छलफल गरौँ, संवाद गरौँ र साझा निष्कर्ष निकालौँ । पार्टी सभापतिले निरन्तर यही कुरा राखिरहनुभएको छ । उहाँले नेताहरूसँग प्रत्यक्ष भेटघाट र टेलिफोन संवादमार्फत पनि सहमतिका लागि आग्रह गरिरहनुभएको छ । यसभन्दा बढी लचिलो र व्यावहारिक हुने अर्को बाटो के हुन सक्छ ?