पाकिस्तानको ब्रोड पिकमा भीषण हिमपहिरो : विश्वकीर्तिमानी निर्मल पुर्जासहित पाँच नेपाली बेपत्ता

शनिबार, १६ साउन, २०८३
डिजिटल संस्करण
  • बिहीबार दिउँसो करिब ६,६०० मिटर उचाइमा रहेको क्याम्प २ र ३ बिचको पश्चिमी भागमा हिमपहिरो जाँदा बेपत्ता १० मध्ये एक नेपालीसहित चारजनाको शव फेला । विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जासहित ६ जना अझै सम्पर्कविहीन । प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार अभियान प्रभावित । 
  • निर्मल पुर्जा (निम्स दाइ)को नेतृत्वमा गएको टोलीमा नेपाली आरोही पूर्वबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किली’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा सहभागी थिए । टोलीमा ओमानका नधिर अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाका मलोरी गाइस पनि थिए ।

विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाको नेतृत्वमा पाकिस्तानको ब्रोड पिक (८,०४७ मिटर) हिमाल आरोहणमा गएको अन्तर्राष्ट्रिय टोली भीषण हिमपहिरोमा परेको छ । दुर्घटनापछि पुर्जासहित ६ जना अझै सम्पर्कविहीन छन्, जसमा पाँच नेपाली छन् । प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार अभियान प्रभावित बनेको छ । एक नेपालीसहित चारजनाको भने शव फेला परेको छ ।

निर्मल पुर्जा (निम्स दाइ) को नेतृत्वमा गएको टोलीमा नेपाली आरोही पूर्वबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किली’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा सहभागी थिए । टोलीमा ओमानका नधिर अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाका मलोरी गाइस थिए ।

दुर्घटना बिहीबार दिउँसो करिब ६ हजार ६ सय मिटर उचाइमा रहेको क्याम्प २ र ३ बिचको पश्चिमी भागमा हिमपहिरो जाँदा भएको हो । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार त्यसलगत्तै आरोही टोलीसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । हिमपहिरोपछि निर्मल पुर्जाको जिपिएस ट्र्याकिङ उपकरणले केही समयसम्म संकेत देखाए पनि त्यसपछि सम्पर्क हुन सकेको छैन ।

पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले एक नेपालीसहित चारजनाको शव फेला परेको जनाएका छन् । पाकिस्तानस्थित नेपाली दूतावासले पनि एक नेपाली आरोहीको शव फेला परेको पुष्टि गरेको छ । पाकिस्तानका लागि नेपाली राजदूत रिता धितालले शुक्रबार साँझ नयाँ पत्रिकासँग भनिन्, ‘एक नेपाली आरोहीको शव फेला परेको जानकारी आएको छ । बेपत्ता नेपालीको अवस्थाबारे पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको छ । अन्तरप्रदेश समन्वय मन्त्रालय, विदेश मन्त्रालय र अल्पाइन क्लबसँग पनि निरन्तर सम्पर्कमा छौँ ।’

बिहीबार मध्याह्नतिर करिब ६ हजार ६०० मिटर उचाइमा रहेको क्याम्प २ र ३ को बिचमा पर्ने हिमालको पश्चिमी क्षेत्रमा हिमपहिरो गएको थियो । शुक्रबार पाकिस्तानी सेनाको हेलिकोप्टर तथा चर्चित आरोही सिरबाज खान र सेरजाद करिमसहितको उद्धार टोली हिमपहिरो प्रभावित क्षेत्रमा परिचालित भएको थियो । ड्रोनमार्फत चार शव फेला परे पनि खराब मौसमका कारण उद्धार कार्य अपेक्षित अघि बढ्न सकेन । काराकोरम पर्वत शृंखलामा मौसम लगातार बिग्रिएपछि हवाई तथा स्थलमार्गबाट भइरहेको खोजी तथा उद्धार अभियान शुक्रबार साँझदेखि स्थगित गरिएको छ । गिलगिट–बाल्टिस्तान सरकारले मौसम अनुकूल हुनासाथ अभियान पुनः सञ्चालन गरिने जनाएको छ ।

नेपाली आरोहीहरू अल्पाइन क्लब अफ पाकिस्तानसँगको समन्वयमा आरोहणमा गएका थिए । परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली दूतावासमार्फत अल्पाइन क्लब अफ पाकिस्तान तथा सम्बन्धित सबै निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ । मन्त्रालयले बेपत्ता आरोहीहरूको शीघ्र तथा सुरक्षित उद्धारका लागि आवश्यक कूटनीतिक सहजीकरण जारी रहेको पनि जनाएको छ ।

बेपत्ता १० आरोहीमध्ये चारजनाको शव फेला परिसकेको छ भने बाँकीको खोजी प्रतिकूल मौसमका कारण रोकिएको छ । गिलगिट–बाल्टिस्तानका गृहमन्त्री फैसल एहसान फिरजादका अनुसार मौसममा सुधार आएपछि शनिबार बिहानदेखि उद्धार तथा खोजी अभियान पुनः सुरु गरिनेछ ।

आरोहणमा जानुअघि ‘निम्स दाइ’को भावुक सन्देश
११ साउनमा निर्मल पुर्जाले ब्रोड पिक हिमाल आरोहण गर्ने योजना कहिल्यै नभएको सामाजिक सञ्जाल एक्समा लेखेका छन् । आरोहणमा जानुअघि एक्समा उनले लेखेका छन्, ‘सुरुमा ग्यासब्रुम २ (जी टु) मात्रै चढ्ने योजना थियो । तर, पाकिस्तान प्रस्थान गर्नु ठिकअघि आठ हजार मिटर अग्ला हिमाल आरोहणको हिसाब–किताब हेरेँ । त्यहीँनिर मलाई महसुस भयो– यदि मैले यहाँ हुँदा ब्रोड पिक पनि सफलतापूर्वक चढेँ भने एउटा मात्र बाँकी रहनेछ– ‘चो ओयु’ । त्यसपछि म विनाअक्सिजन सबै १४ वटा आठ हजार मिटर हिमाल दुईपटक चढ्ने इतिहासकै पहिलो व्यक्ति बन्नेछु ।’

उनले आफू माथि जाने र सुरक्षित रूपमा तल फर्किनेवाहेक अरू केही नमाग्ने भन्दै ब्रोड पिक हिमाललाई सम्बोधन गरेर भावुक सन्देश लेखेका छन् । ‘ब्रोड पिक, म माथि जाने र सुरक्षित रूपमा तल फर्कने बाटोबाहेक अरू केही माग्दिनँ । म कुनै पनि हिमाललाई हल्का रूपमा लिन्नँ,’ उनले लेखेका छन्, ‘जुन क्षण मेरो पाइला बेसक्याम्पबाट अगाडि बढ्छ, त्यहाँ मेरो १००% मिहिनेत हुन्छ । सधैँ यस्तै थियो, सधैँ यस्तै रहनेछ ।’

पुर्जाले सामाजिक सञ्जालमा अवसरहरू चिच्याएर नआउने र अवसर छोप्न आफू सक्रिय रहँदै आएको भनेका छन् । ‘अवसरहरू चिच्याएर आउँदैनन् । तिनीहरू त तिनै मानिसहरूका अगाडि सुस्तरी गुनगुनाउँछन् जो पहिलेदेखि नै मौन रहेर काम गरिरहेका छन्,’ म्याग्दीका पुर्जाले लेखेका छन्, ‘मेरो एक मात्र लडाइँ हिजोको आफूसँग थियो । ‘प्रोजेक्ट पसिबल’का क्रममा जब मैले विनाअक्सिजन १४ हिमालहरू चढेँ, तब मानिसहरूले मेरो आलोचना गरे । मैले अन्य टोलीहरूले छाडेर गएका आरोहीहरूको पटक–पटक उद्धार गरिरहेको थिएँ, आफैँ रकम जुटाइरहेको थिएँ, अगाडि सरेर नेतृत्व गरिरहेको थिएँ, आफ्नै डोरीहरू टाँगिरहेको थिएँ, चीनसँग सिसापाङ्माको अनुमतिका लागि पहल गरिरहेको थिएँ, आमाको शल्यक्रियाका लागि अस्पतालहरूमा धाइरहेको थिएँ र अझै धेरै कुराहरू गरिरहेको थिएँ । अनि अहिले ? अहिले म विनाअक्सिजन दोस्रोपटक (कुलमा तेस्रोपटक) १४ वटै हिमाल चढ्न अगाडि बढ्दै छु । मानिसहरूका कुरा काट्ने क्रम रोकिएको छैन । मैले केवल सुन्न छाडिदिएको हुँ ।’

उनले अक्सिजनविना आरोहण दलको नेतृत्व गर्दै र गाइड गर्दै पाकिस्तानका सबै पाँचवटा आठ हजार मिटरभन्दा अग्ला हिमाल २६ दिनमा आरोहण गरेका थिए । उनी हराएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले शुक्रबार प्रमुखताका साथ दिएका छन् ।
 

सुझावित समाचार