कप्तानगन्ज घटनाको बाछिटाले मधेश पनि अशान्त

शुक्रबार, १५ साउन, २०८३
डिजिटल संस्करण
कप्तानगन्ज घटनाको बाछिटाले मधेश पनि अशान्त

सिराहाको गोलबजारमा बिहीबार प्रदर्शनकारीहरूले गरेको आगजनी

सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा गत आइतबार दुई समूहबिचको झडपमा एक युवकको मृत्यु भएको घटनाले मधेशलाई पनि अशान्त पार्न थालेको छ । बिहीबार सिराहाको गोलबजार नगरपालिका– ४, क्याम्पस चोकमा कर्फ्युकै बिचमा भएको झडपमा प्रहरीको गोली लागेर औरही गाउँपालिका– २, तुलसीपुरका १७ वर्षीय गणेश यादवको मृत्यु भएपछि प्रदर्शन झन् हिंसात्मक बनेको छ । कप्तानगन्ज घटनाको बाछिटा मोरङको विराटनगर हुँदै सप्तरी, सिराहा, धनुषा र पर्सासम्म पुगेको छ ।

मृतक गणेश गोलबजारमा डेरा गरी १२ कक्षामा अध्ययन गर्थे । प्रदर्शनकारीले शव सडकमै राखेर प्रदर्शन गरेका थिए । तर, प्रहरीले साँझ शव सडकबाट हटाएको छ । प्रत्यक्षदर्शीका अनुसार स्थानीय प्रशासनले दिउँसो २ बजेबाट कर्फ्यु जारी गरे पनि क्याम्पस चोकमा झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो । गणेशको घाँटीमा गोली लागेको थियो ।

सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार गोलबजारमा भएको झडपमा एकजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जना सुरक्षाकर्मी रहेका छन् । उनका अनुसार दायाँ खुट्टामा गोली लागेका प्रहरी हवल्दार नारद परियारलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ ।

त्यस्तै, गोली लागेर घाइते भएका धनुषाधाम नगरपालिका– ७ का १८ वर्षीय सुवास ठाकुरलाई थप उपचारका लागि हेलिकोप्टरबाट धरान पठाइएको स्थानीय प्रहरीले जनाएको छ । गोलबजारका ५७ वर्षीय कलाम खान कुटपिटबाट घाइते भएका छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । किशोरको मृत्यु भएपछि गोलबजारको अवस्था तनावग्रस्त बनेको छ । प्रदर्शनकारीले गोलबजारमा सिराहा सुपर मार्केटले सञ्चालन गर्दै आएको एबी मलसहित दर्जनौँ व्यक्तिका निजी घर, पसल, मोटरसाइकलमा आगजनी गरेका छन् ।

गोलबजारमा क्षेत्रका करिब एक दर्जन घर, पसलमा आगजनी भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरी उपरीक्षक पाठकले बताए । ‘त्यसको आर्थिक क्षतिको आर्थिक मूल्यांकन स्थलगत मुचुल्का उठाएपछि मात्र यकिन हुन सक्छ,’ उनले भने । त्यस्तै, गोलबजारमा क्षेत्रमा २० वटा मोटरसाइकल, एउटा विद्युतीय टेम्पोमा पनि आगजनी भएको उनले बताए ।

सुनसरी घटनापछि सिराहाको लहान, धनगढीमाई, कसहा, गोलबजार, मिर्चैया र बन्दीपुर क्षेत्रमा हरेक दिन प्रदर्शन हुँदै आएको थियो । गोलबजारमा पनि घटना भएपछि सिराहा प्रशासनले बिहीबार साँझ ४ बजेबाट लहानमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । गोलबजारमा घटनाअघि दिउँसो २ बजेबाट लागेको कर्फ्यु कायमै छ ।

देवानगन्जका अर्का घाइतेको पनि मृत्यु
आइतबारको झडपमा सुनसरी देवानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो । उक्त घटनामा २४ जना घाइते भएका थिए । तीमध्येका २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरमा ज्यान गएको छ ।

मधेश सरकारले भन्यो– सामाजिक सद्भाव र भाइचारा कायम राखौँ 
मधेश प्रदेश सरकारले संयमता अपनाउदै सहिष्णुता र आपसी सद्भावलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । मधेशमा पनि प्रदर्शन बढ्न थालेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले घटना अत्यन्त दुःखद र खेदजनक रहेको बताउँदै सबैले सामाजिक सद्भाव र भाइचारालाई कायम राख्न अनुरोध गरेका हुन् ।

‘घटनामा संलग्न दोषीमाथि छानबिन गरी कानुनबमोजिम सजाय त हुन्छ नै । अहिलेको मुख्य दायित्व नागरिकको जिउधनको सुरक्षा गर्नु हो । त्यसका लागि सबै जुटौँ,’ नयाँ पत्रिकासँग कुरा गर्दै मुख्यमन्त्री यादवले भने । घाइतेको उपचारका लागि प्रदेश सरकारले पहल र सहयोग गर्ने बताउँदै उनले मृतकका परिवारलाई राहतका निर्णय हुने बताए ।

त्यस्तै, उद्योग वाणिज्य संघ सिराहाले पनि संवेदनशील अवस्थामा संयमता अपनाई समाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचाराको वातावरण बनाउन आग्रह गरेको छ । संघका जिल्ला अध्यक्ष प्रदीपकुमार गुप्ता र महासचिव रवीन्द्रकुमार श्रेष्ठले विज्ञप्तिमार्फत सुनसरी र सिराहा घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही तथा पीडित परिवारलाई शीघ्र न्याय दिलाउन आग्रह गरेका छन् ।

मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पछिल्ला घटनापछि प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र आपसी भाइचारा कायम राख्न सबैसँग हार्दिक अपिल गरेका छन् । अपिल जारी गर्दै कर्णले मधेश प्रदेश विभिन्न आस्था, संस्कृति र परम्पराको साझा थलो भएकाले क्षणिक तनाव वा गलत बुझाइका कारण वर्षौँदेखि कायम रहेको आपसी विश्वास र सहअस्तित्वमा आँच आउन नदिन आग्रह गरेका हुन् ।

धनुषा र वीरगन्जमा पनि निरन्तर प्रदर्शन
धनुषाको जनकपुरधाम र पर्साको वीरगन्जमा पनि बिहीबार विरोध प्रदर्शन गर्दै बजार बन्द गराएका छन् । प्रदर्शन बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो साढे ३ बजेबाट जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

वीरगन्जमा भने निषेधाज्ञाको उल्लंघन गर्दै बिहीबार साँझ जुलुस प्रदर्शन भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकामा बिहीबार साँझ ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको छ । तर, प्रदर्शनकारीले निषेधाज्ञाकै बिच नगर परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले संवेदनशील अवस्थालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको बताए । धार्मिक वा सामाजिक द्वेष फैलाउने, भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, सेयर वा प्रचारप्रसार नगर्न पनि उनले अनुरोध गरे ।

जनकपुरधाम बजारमा दिनभर प्रदर्शन रह्यो । बजार बन्द गराउने क्रममा केही पसलमा तोडफोड भएको छ । रामानन्द चोकमा सडक अवरुद्ध गर्दै चक्काजाम गरिएको थियो । प्रदर्शनका क्रममा जनकपुरधाम– ८ मा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा जनकपुरधाम उपमहानगरपालिका–७ का १२ वर्षीय बालक आनन्द दास घाइते भएका छन् । गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । कर्फ्यु जारी गरिए पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले सेना पनि परिचालन गरेको छ । 

मृतकका परिवारलाई १० लाख राहत दिने देवानगन्ज गाउँपालिकाको निर्णय 
सहिद घोषणाका लागि सरकारलाई सिफारिस देवानगन्ज गाउँपालिकाले गत आइतबार कप्तानगन्जमा भएको घटनामा ज्यान गुमाएका दुई युवाका परिवारलाई राहत दिने निर्णय गरेको छ । त्यस्तै, सहिद घोषणाका लागि सरकारलाई सिफारिस गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

दुई समूहबिच भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका स्थानीय २४ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहतालाई सहिद घोषणाको सिफारिस गर्दै परिवालाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने देवानगन्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले बताए । ओमप्रकाशको गत आइतबार नै र जयप्रकाशको उपचारका क्रममा बिहीबार विराटनगरमा ज्यान गएको हो ।

उनका अनुसार कार्यपालिका बैठकले मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ, गोली लागेर पूर्ण अशक्त तथा अतिअशक्त अपांगता भएका व्यक्तिलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र मध्यम तथा सामान्य अपांगता भएका व्यक्तिलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारले बुधबार घटनामा ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपैयाँ तथा घर, पसल साथै अन्य आगजनीपीडित परिवार तथा घाइतेलाई ५० हजारका दरले राहत दिइने निर्णय गरेको थियो ।

त्यस्तै, घटनापछि उत्पन्न परिस्थितिबारे स्थानीय जनगुनासोलाई सम्बोधन गर्न वडा नम्बर ३ का ज्येष्ठ वडासदस्य रामबहादुर महतोलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ । 

सुझावित समाचार