स्वास्थ्यसचिव डा. विकास देवकोटालाई ३ प्रश्न

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

हामीकहाँ स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी किन पटक–पटक आक्रमणमा पर्छन् ?
यसमा सामान्यतः गलत बुझाइले काम गरेको देखिन्छ । आमसेवाग्राहीमा चिकित्सकले लापरबाही गर्छन् भन्ने बुझाइ छ । कुनै पनि चिकित्सकले नियतवश लापरबाही गर्दैन । सामान्यतः सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको कमीका कारण कार्यबोझ बढी नै छ । स्वास्थ्यकर्मी ‘ओभरलोडेड’ छन् । अत्यन्त थोरै जनशक्तिले असाध्यै धेरै सेवाग्राहीलाई सेवा दिनुपर्ने बाध्यता छ । कामको चापले गर्दा कहिलेकाहीँ उपचारमा त्रुटि भएका पनि हुन सक्छन् । तर, त्यसो भन्दैमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुःखद छ । यस्ता दुःखद घटना न्यूनीकरणका लागि स्वास्थ्य सेवामा जनशक्ति व्यवस्थापनदेखि विभिन्न सुधारमा मन्त्रालय प्रयत्नशील छ ।

स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न सकिन्न ?
यसका लागि सरकारले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्वास्थ्य संस्थाको मापदण्ड, गुणस्तर, जनशक्ति व्यवस्थापनबारे पनि मापदण्ड लागू भएको छ । स्वास्थ्यकर्मीको बोलीवचन, बानीव्यहोरालगायत ससाना कुरालाई पनि मापदण्डमा समेटिएको छ । यसका लागि स्वास्थ्यकर्मीलाई वेलावेलामा तालिमका माध्यमबाट ‘अपडेटेड’ गराउने कार्य पनि भइरहेको छ । यहाँनेर स्वास्थ्यकर्मीले सेवा प्रवाहमा लापरबाही गर्छन् भन्ने जनताको बुझाइमा पनि परिवर्तन ल्याउनु आवश्यक छ । स्वास्थ्यकर्मीले लापरबाही नै गर्दैनन् भन्न खोजेको होइन मैले । कहिलेकाहीँ मानवीय त्रुटि हुन सक्छन् । तर, त्यसलाई न्यूनीकरण गर्न सकिन्छ र गर्नु पनि पर्छ । त्यस्ता त्रुटिकै कारण स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी आक्रमणमा पर्ने अवस्था भने आउनुहुँदैन । 

अहिले स्वास्थ्यकर्मीको हडतालले गर्दा बिरामी मारमा परेनन् र ?
स्वास्थ्यकर्मीको हडतालले सेवाग्राही बिरामीमा मारमा नपर्ने भन्ने त कुरै भएन । त्यसैले, मन्त्रालय यस्ता हडतालको पक्षमा छैन । अहिले (बुधबार साँझ) स्वास्थ्यकर्मीसित सहमति भएको छ । उहाँहरू अहिलेदेखि नै काममा फर्किनुभएको छ । जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नुपर्छ भन्नेमा हामी सबै प्रतिबद्ध छौँ ।

सुझावित समाचार