पाकिस्तानको इस्लामाबादमा चलिरहेको काभा पुरुष भलिबल लिग २०२६ मा नेपालले सबै ६ खेलमा हारको सामना गरेको छ । निराशाजनक प्रदर्शनसँगै नेपाल प्रतियोगितामा छैटौँ स्थानमा सीमित भएको छ । इस्लामाबादमा मंगलबार पाँचौँ स्थानका लागि भएको प्रतिस्पर्धामा कजाकस्तानले नेपाललाई २५–१८, २७–२५ र २५–२० को सोझो सेटमा पराजित गरेको छ । यसअघि पहिलो खेलमा नेपालले कजाकस्तानलाई अन्तिम सेटसम्म रोकेको थियो । सो खेलमा नेपाल पाँचौँ तथा निर्णायक सेटमा पराजित भएको थियो । तर, पाँचौँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेन् ।
पहिलोपटक अन्तर्राष्ट्रिय भलिबल महासंघको वरीयतामा समावेश भएको नेपाल आयोजक राष्ट्र पाकिस्तान, उज्वेकिस्तान, बंगलादेश र श्रीलंकासँग हारको सामना गरेको थियो । यी राष्ट्रहरू शीर्ष चारमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लियाकत लियाकत जिम्न्यासियममा भएको खेलमा कजाखस्तानले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेटको तुलनामा दोस्रोमा नेपालले पुनरागमन गरेको थियो । तर, नेपालले कजाकस्तानलाई हराउन भने सकेन । प्रतिस्पर्धात्मक दोस्रो सेट कजाकस्तानले टाइब्रेकरमा २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । पाँचौँ स्थानका आशा जीवितै राख्न नेपालले तेस्रो सेट जित्नुपर्ने थियो । तर, कजाकस्तानले नेपाललाई २५–२० ले आफ्नो पक्षमा पार्दै पाँचौँ स्थान रक्षा गर्यो ।
नेपालको तीन अंक
लिग चरणको पहिलो खेलमै नेपालले दुई सेट गुमाए पनि सानदार पुनरागमन गरेको थियो, तर निर्णायक सेटमा पराजित भएको थियो । पाँचौँ स्थानको प्ले–अफमा कजाकस्तानविरुद्ध बदला लिँदै सुखद रूपमा प्रतियोगिता समाप्त गर्ने नेपालको लक्ष्य पूरा हुन सकेन । नेपालले लिग चरणमा पाँच खेल खेल्दा तीन खेल पाँच सेटमा पुगेर पराजित भएकाले तीन अंक जोड्न सफल भएको थियो ।
कजाकस्तानसहित श्रीलंका र बंगलादेशसँग नेपाल पाँचौँ सेटमा पुगेर नेपाल पराजित भएको थियो पाकिस्तान र उज्वेकिस्तानले नेपाललाई सोझो ३–० को सेटमा हराएको थियो । एफआइभिबीको विश्व वरीयता मान्यताप्राप्त प्रतियोगितामा नेपालले वरीयतामा सुधार गर्ने अवसरसमेत चुकाएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल उज्वेकिस्तान र बंगलादेशबिच हुनेछ । दोस्रो सेमिफाइनलमा पाकिस्तानले श्रीलंकाको सामना बुधबार गर्नेछ ।