ईशान बने लन्डन इयर केयरको ब्रान्ड एम्बेसडर

शुक्रबार, १३ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- नेपाली क्रिकेटर ईशान पाण्डे लन्डनस्थित स्वास्थ्य सेवाप्रदायक संस्था लन्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । बिहीबार आयोजित कार्यक्रममा पाण्डे र संस्थाका निर्देशक राजन खकुरेलबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि पाण्डेले खुसी व्यक्त गर्दै आफूलाई यो अवस्थामा पुग्न सहयोग गर्ने क्यान र आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको लन्डन इयर केयरलाई धन्यवाद दिए ।

संस्थाका निर्देशक खकुरेल बेलायतमा रहेर स्वास्थ्य सेवा, सामाजिक कार्य, सामुदायिक विकास तथा नेपाली क्रिकेटको प्रवर्द्धनमा सक्रिय छन् ।

उनले सन् २०१६ मा लर्डस् क्रिकेट मैदानमा नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) बिच भएको ऐतिहासिक खेलमा टिकट व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए ।

सन् २०१८ मा नेपाल, नेदरल्यान्ड्स र एमसिसीबिच भएको त्रिकोणात्मक टी–२० सिरिजको व्यवस्थापन तथा समन्वयमा पनि उनले भूमिका निर्वाह गरेका थिए ।

पाण्डेसँगको सहकार्यले लन्डन इयर केयरको पहिचान विस्तार गर्नुका साथै नेपाली क्रिकेट र बेलायतमा रहेका नेपाली समुदायबिचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सुझावित समाचार