अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका– ५ का पूर्ववडाध्यक्ष विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यादवमाथि भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्सलाई सरकारी सम्पत्तिमा दाखिला नगरी व्यक्तिगत नियन्त्रणमा राखेर आम्दानी हिनामिना गरेको आरोप लगाइएको छ।
अख्तियारका अनुसार यादवले भारतीय राजदूतावास, काठमाडौंसँग ०७७ साल असोज १४ गते भएको सम्झौताअनुसार वडावासीलाई सेवा दिन प्राप्त निःशुल्क एम्बुलेन्स वडा कार्यालयको जिन्सी विवरणमा समेत समावेश नगरी आफैँ सञ्चालन गरेका थिए।
अनुसन्धानका क्रममा एम्बुलेन्स सञ्चालनको लगबुक, निःशुल्क तथा सशुल्क सेवा विवरण, इन्धन खर्च र आम्दानीको हिसाब–किताब पालिकामा दाखिला गरेको प्रमाण नभेटिएको अख्तियारले जनाएको छ।
आयोगका अनुसार यादवले करिब तीन वर्ष पाँच महिनाको अवधिमा उक्त एम्बुलेन्स ३० हजार १८५ किलोमिटर सञ्चालन गरेको र नेपाल रेडक्रस सोसाइटी धनुषाले तोकेको दररेटअनुसार सार्वजनिक सम्पत्तिमा रु. १५ लाख नाै हजार दुई ५० बराबरको हानि पुर्याएको देखिएको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कसुर कायम गर्दै यादवविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार यादवले अनुसन्धान अवधिमा कारबाहीबाट उन्मुक्ति पाउने उद्देश्यले एम्बुलेन्स सेवाबाट प्राप्त आम्दानी र ब्याजबापत तीन लाख ८१ हजार पाँच सय ९७ दाखिला गरेका छन्। उक्त रकम घटाएर अब रु. ११ लाख २७ हजार ६५३ बिगो असुलउपर गर्न माग गरिएको छ। अख्तियारले यादवलाई बिगोबराबर जरिवाना तथा भ्रष्टाचार निवारण ऐनबमोजिम कैद सजायको मागदाबीसमेत गरेको जनाएको छ।