व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक शरदविक्रम राणालाई ३ प्रश्न

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

पौने १८ खर्बको व्यापार घाटाले के संकेत गर्छ ?
हाम्रो समग्र अवस्था हेर्दा त धन्न कमै भएछ भन्नुपर्ने अवस्था छ । हाम्रो निर्यातबाट पाम आयल र सोयाबिन आयललाई अलग गर्ने हो भने आफ्नै उत्पादनबाट हुने निर्यात लगभग एक खर्बजति मात्र छ । हाम्रा यसअघिका या अहिलेको सरकारले निर्यातलाई प्राथमिकता दिएकै छैन । 

निर्यात बढाउन निजी क्षेत्रले पनि खासै पहल गरेको छैन । निर्यात प्रवर्द्धन गर्न नीति छ, तर त्यसको प्रभावकारी कार्यान्वयन छैन । निर्यात प्रवर्द्धन गर्न निर्यात अनुदान पनि छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समग्र बजेटमा सबैभन्दा कम एक प्रतिशतजति मात्र बजेट दिइन्छ । अनि, कसरी बढोस् त निर्यात ? 

यसले समग्र अर्थतन्त्रमा कस्तो असर पार्छ ?
हाम्रो अर्थतन्त्र रेमिट्यान्समा आधारित छ । देशमा रेमिट्यान्स त आयो । तर, त्यसको खर्च उपभोगमा मात्रै भयो । जसले गर्दा पैसा जताबाट आयो, घुमिफिरी उतै फर्कियो । त्यति ठुलो परिमाणको रेमिट्यान्सलाई उत्पादन र रोजगारी बढाउने क्षेत्रमा खर्च गर्नै खोजिएन । उत्पादन बढाएर निर्यात प्रवर्द्धन गर्ने क्षेत्रमा सो पैसाको लगानी नै भएन । देशमै उत्पादन हुन सक्ने वस्तुमा पनि हामी आयातमै निर्भर भयौँ । यसतर्फ कुनै पनि सरकारको ध्यान पुगेन । यसले गर्दा हाम्रो अर्थतन्त्रमै गम्भीर नकारात्मक असर परिरहेको छ । 

व्यापार घाटा कम गर्न के गर्नुपर्ला ?
कृषिप्रधान देश भएर पनि हामी कृषि उपजमा आयातमै भर पर्न थालेका छौँ । यस्तोमा देशभित्र उत्पादन हुन सक्ने हरेक वस्तुको उत्पादनका लागि किसानलाई प्रोत्साहित गरिनुपर्छ । विभिन्न स्टार्टअपलाई अनुदान दिँदा पनि सकभर निर्यात गर्ने या आयातलाई प्रतिस्थापन गर्ने वस्तुका उत्पादकलाई प्राथमिकता दिनुपर्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निर्यात बुझेका दक्ष व्यक्तिलाई ल्याउनुपर्छ । ढुवानी या पारवहन लागत घटाउन विशेष पहल गर्नुपर्छ । 

सुझावित समाचार