धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा डा. केसी अनशन बस्ने भएपछि स्थानीयको विरोध

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

अभियन्ता डा. गोविन्द केसी धनगढीमा अनशन बस्ने भएका छन् । केसीले बिहीबार दिउँसो ३ बजेबाट धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा अनशन बस्ने तयारी गरेका छन्। उनी हिजो नै धनगढी आइपुगेका हुन्।

स्थापित नियम र मूल्य–मान्यताविपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू बदर गरी ऐनका विवादित प्रावधानहरू संशोधन गर्नुपर्नेलगायत पाँचबुँदे माग राखेर केसी अनसन बस्न लागेका हुन्।

चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउनुपर्नेलगायत माग उनले अघि सारेका छन् ।
डा. केसी अनशन बस्नुअघि विरोध सुरु भएको छ । डा. केसीका मागले भर्खर सञ्चालनको बाटोमा अघि बढेको गेटास्थित दशरथ चन्द चिकित्सा विश्वविद्यालय सञ्चालनमा असर पर्ने भन्दै स्थानीयले विरोध जनाएका छन् ।

यहाँका स्थानीय र सामाजिक अगुवाहरूले सामाजिक सञ्जालमा डा. केसीको अनशनप्रति विरोध जनाएका छन् । धर्मशालामा अनशन बस्न नहुने भन्दै केही युवाहरू मन्दिरपरिसर पुगेर विरोधसमेत गरेका छन् । 
 

सुझावित समाचार