हस्तकला उद्योगको विकासमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

नेपाल हस्तकला व्यवसायी महासंघले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग पूर्ण सहकार्य गर्न तयार रहेको जनाएको छ ।

बालेन्द्र शाह (बालेन)सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा महासंघका प्रतिनिधिहरूले वर्तमान सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकता दिएको महसुस भएको भन्दै आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

छलफलका क्रममा बालेनले हस्तकलासम्बन्धी नीति सुधार, परम्परागत कला संरक्षण, रोजगारी सिर्जना तथा पुस्तान्तरणमार्फत सिप संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए । साथै निजी–सरकारी साझेदारी (पिपिपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने महासंघको प्रस्तावप्रति पनि सकारात्मक प्रतिक्रिया दिए ।

महासंघले मंसिर २८ गते मनाइँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय स्तरमा मनाउन माग गरेपछि बालेनले गृह मन्त्रालयसँग आवश्यक समन्वय गर्न आफ्नो टोलीलाई निर्देशन दिएका छन्। हस्तकला सामग्री निर्यातमा स्वघोषणाको सट्टा बिजक मूल्यांकन प्रणाली लागू गर्ने तथा तीन वर्षदेखि रोकिएको निर्यात प्रोत्साहनस्वरूप पाँच प्रतिशत रकम पुनः उपलब्ध गराउने विषयमा पनि बालेनले आश्वासन दिएका छन् ।

उद्योग विभागपरिसरमा निर्माण भइसकेको सार्क हस्तकला विकास केन्द्रको भवन महासंघलाई फिर्ता गराउने, उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने, सातै प्रदेशमा सिप प्रशिक्षण केन्द्र सञ्चालन गर्ने तथा निर्माण व्यवसायीसँग सहकार्य गरी कलात्मक संरचना निर्माण गर्ने विषयमा समेत बालेनले विशेष चासो देखाएका छन् ।

छलफलमा परम्परागत सिप संरक्षण, हस्तकलाकर्मीलाई परिचयपत्र वितरणलगायत विभिन्न विषयमा पनि महासंघले माग राखेको थियो । कार्यक्रममा महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा तथा निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए ।

सुझावित समाचार