कांग्रेस नेताहरू दुई चिरा भएर संस्थापक बिपी कोइरालालाई सम्झिँदै छन् । संस्थापन र इतर समूहले बुधबार बिपी स्मृति दिवस केन्द्रदेखि निर्वाचन क्षेत्रसम्म छुट्टाछुट्टै मनाउँदै छन् । संस्थापन पक्षले बिपी स्मृति दिवसको दिन ‘ग्रिन रन’ प्रतियोगिता, ग्रिन रन टेबुल र जलवायु संकट झल्काउने लाइभ पेन्टिङ कार्यक्रम आयोजनाका साथै जरा अभियान समापन कार्यक्रम आयोजना गरेको छ ।
इतर पक्षले भने प्रज्ञा भवनमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमबाट राष्ट्रिय भेलाको मिति तय गर्ने तयारी इतर पक्षको छ । साउनभित्रै राष्ट्रिय भेला सम्पन्न गर्ने तयारी छ । इतर पक्षले पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्कने मिति पारेर राष्ट्रिय भेला बोलाउने तयारी गरेको छ । बुधबार प्रज्ञा भवनबाट राष्ट्रिय भेलाको मिति घोषणा हुनसक्ने नेता जितजंग बस्नेतले जानकारी दिए ।
बिपीको ६ साउन ०३९ मा निधन भएको थियो । कांग्रेसले हरेक वर्ष ६ साउनमा बिपी स्मृति दिवस मनाउँदै आएको छ । तर, बिपी स्मृति दिवसकै अवसरमा दुवै समूहले समानान्तर कार्यक्रम गरेर विभाजनको संकेत गरेका छन् । १६५ वटै निर्वाचन क्षेत्रमा बिपी स्मृति दिवस मनाउने इतर पक्षको तयारी छ ।
दुवै पक्षले कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा लिएका छन् । इतर पक्षले गरेको कार्यक्रममा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन् । ‘डाक्टरसाब कार्यक्रममा जानुुहुन्छ,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने । कार्यक्रमलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता कोइरालालगायतले सम्बोधन गर्ने तयारी छ । शेखरले इतर पक्षको कार्यक्रममा सहभागी हुने विषय मंगलबार दिउँसो मात्र सार्वजनिक गरेका थिए ।
सभापति गगन थापाले ग्रिन रन कार्यक्रममा सहभागी हुन सामाजिक सञ्जालबाटै आह्वान गरेका छन् । कांग्रेस संस्थापन पक्षले कार्यक्रमलाई भव्य बनाउने तयारी गरेको छ । युएन पार्कदेखि जावलाखेलसम्म ग्रिन रन कार्यक्रम आयोजना गरिएको छ । संस्थापन पक्षले बिपी स्मृति दिवसकै अवसरमा ७७ वटै जिल्लामा जरा अभियान समापन कार्यक्रम गर्दै छ ।
‘साउन ३ गतेभित्र क्रियाशील सदस्यता वितरणलगायतका सम्बन्धित कार्य व्यापक रूपमा सम्पन्न गरी साउन ६ गते जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा व्यापक सहभागितासहित ‘जरा अभियान’को समापन कार्यक्रम जिल्ला कार्यसमितिको आयोजनामा गर्नुहुन अनुरोध गरिन्छ,’ कांग्रेस महामन्त्री प्रदीप पौडेलले जारी गरेको सर्कुलरमा भनिएको छ ।गत पुसमा विशेष महाधिवेशनमा सहभागी नरहेको निवर्तमान सभापति देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधिलाई तीव्र पारेको छ ।
कार्यसमिति समायोजन मुख्य गाँठो
इतर पक्षले सहमतिका लागि पाँचबुँदे प्रस्ताव अघि सारेको छ । संस्थापन इतर पक्षले १४औँ महाधिवेशन निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट आएको कार्यसमिति समायोजन गर्नुपर्नेबाहेक अन्य मागमा संस्थापन पक्ष सकारात्मक देखिएको छ । सदस्यता अद्यावधिको विषयमा समेत संस्थापन पक्ष लचिलो बन्न तयार भएको छ । १५औँ महाधिवेशनको मिति हेरफेर गर्नुपर्ने प्रस्तावमा पनि संस्थापन पक्ष सकारात्मक छ । विभिन्न समितिमा इतर पक्षलाई समावेश गर्न पनि संस्थापन पक्ष तयार देखिएको छ ।
कांग्रेस सभापति गगन थापाले पार्टी सदस्यता अद्यावधिकको विषय नेताहरूले बुझ्ने विश्वास लिएका छन् । महामन्त्री गुरुराज घिमिरेको पुस्तक ‘बुद्ध, बिपी र आजका नेता’ र ‘लिलिपुटका लघुमानव’ विमोचन कार्यक्रममा थापाले भने, ‘हामी आशा र अपेक्षा गर्छौँ, पार्टीको मूर्धन्य नेताहरूबाट प्रत्यक्ष रूपमा दीक्षित भएर आउनुभएका नेताहरूले समयको यो आह्वानलाई बुझ्नुहुन्छ र कांग्रेसलाई नयाँ बनाउने, नवीकरण गर्ने यो अभियानमा एक ठाउँ जुटेर सबैलाई समेटेर लैजाने अभियानबाट आएका छन् भनेर उहाँहरूले पनि सोच्नुहुन्छ भन्ने अपेक्षा छ ।’
इतर पक्षका नेता विमलेन्द्र निधिले पार्टी एक बनाउने कि अलग भन्ने विषय संस्थापनकै हातमा रहेको बताए । उनले साउन अन्तिमसम्म सहमति नभए १५औं महाधिवेशनको मिति घोषणा गरेर जाने बताए । ‘भोलिको कार्यक्रममा राष्ट्रिय भेलाको मिति घोषणा हुन्छ, साउन अन्तिममा भेला हुन्छ, त्यो बेलासम्म सहमति भयो भने सहमतिबमोजिम जान्छौं । सहमति नभए छुट्टै १५औं महाधिवेशनको तयारी गर्छौं । पाँचबुँदे प्रस्ताव हाम्रो बटमलाइन हो । एकता कि नयाँ पार्टी भन्ने विषय उहाँहरूकै हातमा छ । हामी दुबै विकल्पमा तयार छौँ,’ निधिले भने ।
इतरपक्षले पुनर्गठनपछि बन्ने केन्द्रीय कार्यसमितिको पहिलो बैठकले १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउनुपर्ने र शेरबहादुर देउवा कार्यसमितिमा महामन्त्री गगन थापा संयोजक रहेको समितिले टुंग्याएको सबै क्रियाशील सदस्यलाई स्वतः १५औँ महाधिवेशनमा सहभागी गराउनुपर्ने प्रस्ताव गरेको छ । यी प्रस्तावमा भने संस्थापन पक्ष लचिलो बनेको छ । ‘कार्यसमिति नै समायोजनको विषय विधानले नै गर्न दिँदैन । अन्य विषयलाई सकारात्मक रूपमा लिएका छौँ,’ महामन्त्री घिमिरेले भने ।