विदेशबाट देउवाको सन्देश : नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् । बिपी स्मृति दिवसका अवसरमा मंगलबार सन्देश जारी गर्दै देउवाले देशले प्रतिशोध नभई सहकार्य चाहेको बताएका छन् । उनले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने औँल्याएका छन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा नेपाली जनतासँग आग्रह पनि गरेका छन् ।

‘सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ । तर, म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आमनेपाली जनतासँग हार्दिक आग्रह गर्दै आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदै छु,’ देउवाले भनेका छन् । तर, उनले कहिले फर्किने भन्ने प्रस्ट पारेका छैनन् ।

देउवाले देशलाई विभाजन नभई एकता चाहिएको पनि बताएका छन् । ‘आज देशलाई विभाजन होइन, एकता चाहिएको छ । अविश्वास होइन, विश्वास चाहिएको छ । प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबिच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ । प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्छ,’ उनले भनेका छन् । 

केही महिनादेखि स्वास्थ्य उपचारका सिलसिलामा परिवारसहित विदेशमा रहे पनि मन, सोच र चिन्ता निरन्तर देश, जनता, लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको देउवाले बताएका छन् । ‘नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई मैले गम्भीर चासो र जिम्मेवारीका साथ निरन्तर नियालिरहेको छु । आज फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन, साथै भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन,’ उनले भनेका छन् ।

देउवाले आफ्नो नेतृत्वमा विगतमा समानता, सामाजिक न्याय र समावेशितालाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण निर्णयहरू गरेको र ती निर्णयहरू कांग्रेसले निर्धारण गरेका प्राथमिकताअनुरूप नै रहेको बताएका छन् । उनले वर्तमान परिस्थितिले अझ व्यापक दृष्टिकोण, अझ गहिरो सहकार्य र अझ दृढ राष्ट्रिय संकल्पको आवश्यकता महसुस गराएको औँल्याएका छन् । 

देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू तथा लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेको दाबी गरेका छन् । न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिएको देउवाको दाबी छ । यस्तो परिस्थितिमा कांग्रेसमाथि केवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र होइन, लोकतन्त्र, संविधान, राष्ट्रियता र आमजनतामा सुरक्षाको अनुभूतिसँगै मुलुकको भविष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी पनि थपिएको उनले औँल्याएका छन् । 

‘दुर्भाग्यवश सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू तथा लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेका छन् । न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिँदै छ । यस्तो परिस्थितिमा नेपाली कांग्रेसमाथि केवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र होइन, लोकतन्त्र, संविधान, राष्ट्रियता र आमजनतामा सुरक्षाको अनुभूतिसँगै मुलुकको भविष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी पनि थपिएको छ,’ देउवाले भनेका छन् ।

गत फागुनमा सम्पन्न निर्वाचन हिंसा, त्रास र असहज राजनीतिक वातावरणको पृष्ठभूमिमा सम्पन्न भए पनि जनताले, विशेषगरी युवा पुस्ताको हातमा नयाँ जनादेश सुम्पिएको यथार्थलाई सम्मान गरेको उनले उल्लेख गरेका छन् । प्रतिपक्षको जिम्मेवार भूमिकाबाट लोकतन्त्र, सुशासन र राजनीतिक स्थिरतालाई बलियो बनाउन रचनात्मक सहयोग गर्ने प्रतिबद्धता उनले स्मरण गरेका छन् ।  देउवाले विगतको त्याग, यातना र प्रजातन्त्रका लागि गरेको योगदानको स्मरणसमेत गरेका छन् ।

सुझावित समाचार