एमाले अध्यक्ष केपी ओलीले प्रदेश सरकारबाट हट्नुपर्ने अवस्था आए आफूहरू हट्न तयार रहेको बताएका छन् । पार्टी कार्यालयमा शुक्रबार नवीकृत वेबसाइट शुभारम्भपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग ओलीले प्रदेश सरकारहरूमा आफू एमालेसहित कांग्रेस र नेकपा मिलेर जानुपर्ने पक्षमा रहे पनि अरू दल तयार नभए आफ्नो पार्टी प्रतिपक्षमै बस्न तयार रहेको बताए ।
प्रदेश सरकारबाट एमाले लगभग हट्ने निश्चित भएको हो ? सञ्चारकर्मीहरूको प्रश्नमा ओलीले भने, ‘त्यो त भइसकेको छैन । हट्नुपर्यो भने हट्ने नि ।’ कांग्रेस र नेकपा मिलेर जाने गरी सहमति भएकोबारे जानकारी नभएको भन्दै उनले हट्नुपर्ने स्थिति आए एमाले तयार नै रहेको प्रस्ट्याए ।
भनेपछि एमाले हट्ने स्थिति नै आइसकेको हो ? सञ्चारकर्मीले प्रस्ट उत्तर खोजेपछि ओलीले थपे, ‘मैले त्यसो भन्या होइन । पर्यो भने हट्ने हो । तर, हामीले तीनवटै पार्टी मिलेर जानुपर्छ भनिरहेका छौँ ।’
वेबसाइट शुभारम्भ कार्यक्रममा ओलीले एमालेलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गरेका थिए । ओलीले एमालेलाई स्वतन्त्र वृक्षको संज्ञा दिँदै अनेकौँ राजनीतिक चुनौती, आँधीहुरी र तुफानको सामना गर्दै अघि बढेको बताए ।
‘हामीलाई एक्ल्याउने प्रयास भइरहेका छन् । हामी अर्कालाई समातेर मात्र उठ्न सक्ने लहरो होइनौँ । हामी स्वतन्त्र वृक्ष हौँ । अनेक आँधीहुरी र तुफानको सामना गरेका छौँ । अर्को कसैलाई नसमाती उठ्नै नसक्ने त्यान्द्रो पनि होइनौँ,’ ओलीले भने ।