कांग्रेसले एकतर्फी सहकार्य तोड्ने निर्णय लिएर नयाँ समीकरणको प्रयास अघि बढाए पनि एमालेले भने कांग्रेसले नेतृत्व गरेका प्रदेशहरूबाट तत्काल सरकार छोड्ने निर्णय नगर्ने भएको छ । संविधान र लोकतन्त्रका लागि परिवर्तनका पक्षधर शक्तिहरू एक ठाउँमा उभिने वेला अस्थिरता, सत्ता खिचतानीको सन्देश जाने निष्कर्षसहित प्रदेशहरूको सत्ता सहकार्यमा आफ्नोतर्फबाट गठबन्धन नतोड्ने नीति लिएको हो ।
सुदूरपश्चिममा बर्खास्त गरेकाले बाध्यताले बाहिरिनुपरे पनि कांग्रेसले मुख्यमन्त्री चलाइरहेको गण्डकी, बागमती र मधेश प्रदेशबाट एमाले बाहिरिने निष्कर्षमा पुगेको छैन । बरु, उसले कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै नेकपालाई पनि प्रदेश सरकारहरूमा नेतृत्व दिने गरी छलफललाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने अडान लिइरहेको छ । बागमतीमा राजीनामाको मुडमा रहेका एमालेका मन्त्रीहरू अध्यक्ष केपी ओलीकै तर्फबाट तत्काल सरकारबाट नहट्न निर्देशन गएपछि रोकिएका छन् ।
सचिव पद्मा अर्यालले प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपासहित तीनै दल सहकार्य गरेर जानुपर्छ भन्ने पार्टीको प्रस्ट नीति भएकाले एमाले दुवै दलसँग निर्णायक छलफल गरेपछि मात्रै सबै प्रदेशमा सहकार्य र समीकरणबारे अन्तिम टुंगोमा पुग्ने बताइन् । अर्यालले कांग्रेसले जे निर्णय गरे पनि एमालेले उसैगरी प्रतिक्रिया दिएर उसले नेतृत्व गरिरहेको सरकारबाट नहट्ने प्रस्ट्याइन् । ‘हाम्रा साथीहरूले कांग्रेसले नेतृत्व गरिरहेको प्रदेशमा राजीनामा दिइहाल्नुहुन्न, किनभने नहट्ने गरी पनि सामान्य कुराकानी भइरहेकै छ,’ उनले भनिन् । गण्डकी, बागमती र मधेशमा कांग्रेसबाट मुख्यमन्त्री छन् ।