बिचौलिया दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मतियार ठहर्याउँदै एमाले उपाध्यक्षसमेत रहेका पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित मुद्दा दायर भएको छ । मूल रूपमा प्रतिवादीहरूले गरिदिएको लिखित बयान र अरू सहायक प्रमाणका आधारमा पौडेलविरुद्ध मुद्दा लगिएको छ ।
अदालतमा दायर अभियोगअनुसार श्रीराम टोबाको उद्योग प्रालिका सञ्चालकहरू र पौडेलबिच भेटघाट भएको बयान कागजातबाट खुलेको छ । पौडेल र श्रीराम टोबाकोका सञ्चालक कमलकिशोर मालपानीबिच मोबाइल कल आउने–जाने अवस्थासमेत देखिएको छ ।
मालपानीसहितका सञ्चालकहरूले आफ्नो उद्योगमा भएका समस्या पौडेललाई बताएपछि उनले मालपानीलाई दीपक भट्टसँग भेट गराइदिएका थिए । राजस्व अनुसन्धान विभागदेखि सबै निकायहरूमा जे–जे काम गर्नुपर्ने हुन्छ, ती सबै काममा सहजीकरण हुने, तर त्यसबापत दीपक भट्टलाई श्रीराम टोबाकोको सेयर दिनु भनी पौडेलले भट्टसँग सहजीकरण गरेका थिए । यसपछि श्रीरामको सेयर भट्टलाई बिक्री गरिएको थियो ।
त्यस्तै, सुपारी आयात सहज बनाउने, जनकपुर चुरोट कारखानाको ब्रान्ड श्रीराम टोबाको कम्पनीलाई दिलाउने आश्वासन पौडेलले दिएको कागजी बयान श्रीराम टोबाकोका सञ्चालक चुन्नुप्रसाद शर्मा र कमलकिशोर मालपानीले विभागलाई दिएका छन् । यी आरोपहरूमाथि पौडेलले भने इन्कारी बयान दिएका थिए ।
तर, श्रीराम टोबाकोका सञ्चालकद्वयले नै २० प्रतिशत सेयर दीपक भट्टको कम्पनीलाई दिनु भनेको, भट्टसँग भेट गराएकोलगायतका बयान दिएको अवस्थामा पौडेलको इन्कारी बयान खण्डित भई कसुरमा संलग्नता पुष्टि भएको देखिने अभियोगमा छ ।
मालपानी र शर्माको बयान कागजअनुसारको सुपारी आयातमा पौडेल अर्थमन्त्री हुँदा सहजीकरण गरेको देखिएको छ । मालपानी र शर्मा नै लगानीकर्ता रहेका स्याफ्रोन सिके इन्भेस्टमेन्ट प्रालिका नाममा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २० लाख कित्ता सेयर खरिद गर्दासमेत तत्कालीन अर्थमन्त्री पौडेलले सहजीकरण गरेका थिए ।
पौडेल अर्थमन्त्री भएको अवधिमा नै नेपाल बिमा प्राधिकरणबाट हिमालयन रिइन्स्योरेन्सलाई सञ्चालन इजाजत दिइएको थियो । पौडेल नै अर्थमन्त्री हुँदा श्रीराम टोबाकोले बढी परिमाणमा सुपारी आयात गर्न पाएकोसमेत देखिएको आरोपपत्रमा छ ।
सञ्चालकद्वय शर्मा र मालपानीको बयान तथा कागजअनुसार न्यून मूल्यमा श्रीराम टोबाकोको २० प्रतिशत सेयर अवमूल्यन गरी भट्टलाई बिक्री गरिएको थियो । यसपछि अस्वाभाविक लाभांश वितरण भएको थियो ।
‘विष्णुप्रसाद पौडेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रतिवादी दीपक भट्टले गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ (१) को खण्ड (क), (ख) र (ग) विपरीतको कसुरको मतियार भएको पुष्टि हुन आएकोले बिगो रु. २० करोड ९० लाख कायम गरी प्रतिवादी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ (१) को खण्ड (क), (ख) र (ग) विपरीतको कसुरको मतियार र सोही ऐनको ३ (२) बमोजिम सहयोग तथा मद्दत पुर्याउने कार्य गरेको कसुर स्थापित हुन आयो,’ अभियोगपत्रमा उल्लेख छ ।
आठ कम्पनीमार्फत ललितपुरमा दीपक भट्टले किने १५६ रोपनी जग्गा, जफतको माग दाबी
विभिन्न कम्पनीमार्फत दीपक भट्टले ललितपुरको लामाटारमा १५६ रोपनी जग्गा खरिद गरेको भेटिएको छ । फेवा डेभलपर्स प्रालि, वेगनास डेभलपर्स प्रालि, रिजेन्ट कोर्ट प्रालि, अल्फा डेभलपर्स प्रालि, श्रीनगर डेभलपर्स प्रालि, डेल्टा डेभलपर्स प्रालि, लेखनाथ डेभलपर्स प्रालि र कान्तिपुरी रिसोर्ट प्रालिका नाममा लामाटारमा १५६ रोपनी तीन आना जग्गा देखिएको हो । जग्गाधनी कम्पनीहरूमा दीपक भट्ट एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्स प्रालिको लगानी देखिएको छ । तर, ती जग्गा खरिद गरेको रकमको स्रोत नभेटिएको आरोपपत्रमा उल्लेख छ । ती जग्गा जफतको माग दाबी मुद्दामा गरिएको छ ।
बिमा र धितोपत्रको कसुरमा धरौटीमा छाड्ने आदेश
बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धितोपत्र तथा बिमासम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंले बिहीबार साता लामो सुनुवाइपछि थुनछेक आदेश दिएको हो । न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो । त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी माग भएको छ । नक्कली अशंबन्डा गरेर हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्री गरेको धितोपत्रसम्बन्धी अर्को मुद्दामा सुलभसँग अदालतले दुई करोड ३० लाख धरौटी माग गरेको छ ।