बागमतीमा सत्तासमीकरण फेरिने चर्चा : मन्त्रीहरूको राजीनामा माग्न सकिने कांग्रेस सचेतकको दाबी

एमाले भन्छ– आधिकारिक निर्णय आएको छैन

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशमा साउन १ गतेबाट ८ वटा मन्त्रालय मात्रै हुने भएपछि हालको मन्त्रिपरिषदमा फेरबदल हुनु सामान्य हो । तर, अहिले बागमती प्रदेशमा १४ मन्त्रालयबाट आठ मन्त्रालय कायम हुने विषयसँगै सत्तासमीकरण नै परिवर्तन हुने विषयले चर्चा पाइरहेको छ । देशका सातै प्रदेशमा सत्ता नेतृत्वमा रहेका एमाले र कांग्रेसबिचको गठबन्धन फेरिने चर्चासँगै बागमती प्रदेश सरकारको भविष्यलाई लिएर पनि विभिन्न अड्कलबाजी सुरु भएका छन् । 

कांग्रेस र एमालेबिचको सत्ता सहकार्य टुट्न सक्ने तथा कांग्रेसले नेकपासँग नयाँ गठबन्धन बनाउन सक्ने चर्चा चलिरहेका वेला बागमती प्रदेशका प्रमुख राजनीतिक दलका नेताहरूले भने औपचारिक निर्णय नआएसम्म कुनै निष्कर्षमा पुग्न नसकिने बताएका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले संघीय तहमा विकसित राजनीतिक घटनाक्रमले प्रदेश सरकारमा समेत असर पार्न सक्ने संकेत गरे ।

उनका अनुसार विशेषगरी सुदूरपश्चिम प्रदेशको राजनीतिक घटनाक्रमपछि केन्द्रमा गठबन्धन परिवर्तनको विषयमा छलफल तीव्र भएको छ । उनले अहिले कांग्रेस–एमाले गठबन्धनभन्दा कांग्रेस र नेकपाबिच सहकार्य हुने सम्भावना बलियो बन्दै गएको बताए । ‘केन्द्रीय नेतृत्वबाट औपचारिक निर्देशन आएको छैन, तर गठबन्धन परिवर्तनको विषयमा छलफल अगाडि बढेको देखिन्छ,’ उनले भने । महर्जनका अनुसार यदि केन्द्रमा गठबन्धन परिवर्तनको निर्णय भयो भने त्यसको प्रत्यक्ष प्रभाव बागमती प्रदेश सरकारमा पनि पर्नेछ । 

यद्यपि, उनले आइतबार बस्ने मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्रीले मन्त्रीहरूको राजीनामा माग्न सक्ने सम्भावना बलियो रहेको बताए । उनका अनुसार बामगती प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर आठ बनाउने यसअघिकै निर्णयलाई कार्यान्वयन गर्न पनि प्रदेशका मन्त्रीहरूले राजीनामा दिने समय आएको छ ।

‘सत्तासमीकरण परिवर्तन नै नभए पनि बागमतीमा आठवटा मात्रै मन्त्रालय रहने भएपछि हाल कायम रहेका १४ जना मन्त्रीहरूले राजीनामा दिनुपर्छ,’ उनले भने, ‘र यदि गठबन्धन नै परिवर्तन भएछ भने पनि मन्त्रीहरू पदमा रहिरहन सक्दैनन् । यसअघि पनि यस्तै अवस्था आएको थियो । त्यसवेला मन्त्रिपरिषद् बैठकपछि राजीनामा मागिएको थियो । यसपटक पनि त्यही प्रक्रिया दोहोरिन सक्छ ।’

एमाले भन्छ– आधिकारिक निर्णय आएको छैन
बागमतीमा सत्तासाझेदार एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले भने सञ्चारमाध्यममा गठबन्धन परिवर्तनको चर्चा भएको भए पनि पार्टीले कुनै आधिकारिक निर्णय वा निर्देशन नदिएको स्पष्ट पारे । ‘अहिलेसम्म पार्टीबाट कुनै निर्देशन आएको छैन । शीर्ष नेतृत्वले गर्ने विषय भएकाले हाम्रो तहबाट प्रतिक्रिया दिन मिल्दैन,’ उनले भने ।

प्रमुख सचेतक श्रेष्ठका अनुसार अहिले विभिन्न प्रदेशमा आलोपालो नेतृत्वको विषयमा छलफल चल्नु स्वाभाविक भए पनि त्यसलाई बागमती सरकार परिवर्तनसँग जोडेर हेर्न नहुने बताए । कर्णाली प्रदेशमा नेतृत्व परिवर्तनको सहमति कार्यान्वयनको विषय र सुदूरपश्चिममा बजेट विवादका कारण केही राजनीतिक हलचल भए पनि बागमतीमा त्यसबारे कुनै औपचारिक निर्णय नभएको उनको भनाइ छ । ‘मिडियामा आएका समाचारबाहेक हामीसँग कुनै आधिकारिक जानकारी छैन,’ उनले भने ।

कांग्रेस र एमालेको गठबन्धनमा समस्या आए मात्रै हामी निर्णय गर्छौँ : नेकपा
यता नेकपा बागमती प्रदेश संसदीय दलका सचेतक रत्न ढकालले वर्तमान सरकार कांग्रेस–एमाले गठबन्धनकै भएकाले त्यसको भविष्यबारे प्रतिक्रिया दिन आफूहरू हतार नगर्ने बताए । उनले नेकपासँग सरकार गठनका विषयमा कुनै औपचारिक छलफल नभएको स्पष्ट पार्दै गठबन्धनभित्र समस्या उत्पन्न भए मात्र त्यसबारे सोचिने बताए ।

‘हामी प्रतिपक्षको भूमिकामा छौँ । कांग्रेस र एमालेबिचको गठबन्धन कायम रहेसम्म सरकार गठनबारे हाम्रो कुनै छलफल छैन,’ उनले भने । सचेतक ढकालले अनौपचारिक रूपमा विभिन्न राजनीतिक भेटघाट र संवाद भइरहे पनि त्यसलाई सरकार निर्माणसँग जोड्न नमिल्ने बताए ।

‘यदि उहाँहरूको गठबन्धन टुट्यो, सरकार अल्पमतमा पर्यो र राजनीतिक रिक्तता सिर्जना भयो भने त्यसवेला परिस्थितिअनुसार छलफल हुन सक्छ । तर, अहिले नै अरूको गठबन्धन भत्काएर सरकार बनाउने हाम्रो नीति छैन,’ उनले भने ।
हाल बागमती प्रदेश सरकार कांग्रेसको नेतृत्वमा एमालेको समर्थनमा छ ।

केन्द्रमा हुने सम्भावित राजनीतिक सहमतिले प्रदेश सरकारको संरचना, मन्त्रिपरिषद् र सत्तासमीकरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले प्रदेशका राजनीतिक दलहरू अहिले ‘पर्ख र हेर’को रणनीतिमा देखिएका छन् ।बागमती प्रदेशमा हाल १०४ जना प्रदेश सभा सदस्य कायम छन् ।

गत संसदीय निर्वाचनमा ६ जना सांसदले राजीनामा दिएपछि बागमतीमा प्रदेश सांसदको संख्या १०४  कायम रहेको हो । अहिलेको अवस्थामा यहाँ सरकार बनाउन ५३ सांसदको समर्थन आवश्यक हुन्छ । बागमतीमा कांग्रेससँग ३६, नेकपासँग २६, एमालेसँग  २५, राप्रपासँग १२, नेमकिपासँग तीन र हाम्रो नेपाली पार्टी (हानेपा)सँग दुई सिट छ ।

सुझावित समाचार