गणेश नेपालीका नाममा

परिवर्तनका लागि जेन–जी आन्दोलनमा होमिएका गणेशहरू जेन–जी आन्दोलनकै बलमा बनेको सरकारको अन्यायमा पर्नु दु:खद हो

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

प्रिय गणेश नेपाली,
गहिरो स्मरण, 

सामाजिक सञ्जालमा तिमीले आफैँलाई आगो लगाएको दृश्य देखेँ । सुरुमा त विश्वासै लागेन । तर, त्यो यथार्थ रहेछ । नगरप्रहरीसँग भएको विवाद, पेट्रोल छर्केको, आगो लागेर भागदौड गरेको, छटपटाएको र अस्पतालको शङ्ढयामा मृत्युसँग लड्दा भोगेको पीडाको हामी कल्पना पनि गर्न सक्दैनौँ । यी दृश्यले मनै भारी भयो । सायद, शासकवर्गबाहेक आज सिंगो देशको मन भारी भएको छ । सामान्य पीडा, आक्रोश वा समस्याले मानिसले यो तहको कदम चाल्दैन । अकल्पनीय, पीडादायी र मनै पोल्ने त्यस्तो दृश्य देखेको मैले जब तिम्रो घर, परिवार, भूगोल र तिमीले गरेको संघर्षबारे थाहा पाएँ, मन सम्हाल्न कठिन भयो । यो पत्र तिनै पीडाका स्वरको परिणाम हो । परिवर्तनका लागि जेन–जी आन्दोलनमा होमिएका तिमी जेन–जी आन्दोलनकै बलमा बनेको सरकारको अन्यायमा पर्नु दुःखद हो । 

गणेश, तिम्रो निधनसँगै देखिएका प्रतिक्रियाले अहिले म सोचमग्न भएको छु । समाज पनि कस्तो अचम्मको रहेछ । हिजोसम्म तिमीले भोगेका समस्या, हन्डर ठक्करबारे यो समाजलाई कुनै चासो थिएन । तर, जब तिमीले आत्मदाहजस्तो कठिन बाटो रोज्यौ, अहिले सामाजिक सञ्जालका भित्ता, अखबारका पाना, टिभी र मल्टिमिडियाका दृश्य र चिया चौतारीदेखि चुलोचौकोसम्म तिम्रै चर्चा छ । यहीँनेर प्रश्न गर्न मन लाग्छ, किन समाजले जीवित हुँदा नै जीवन धान्नका लागि भोग्नुपरेको पीडामा साथ दिँदैन ? किन न्यूनतम मानवीय संवेदना पनि प्रकट गर्दैन ? जब जीवन नै नरहेपछि किन गोहीका आँसु बगाउँछ ?

नेपाल यही देश हो, जहाँ एक वर्षमा चालीस अर्ब कमाउने धनाढ्य पनि छन् र एक हजार जरिवानाका कारण आत्मदाह गर्नुपर्ने गणेशजस्ता नागरिक पनि छन् । मोटरसाइकल लक र जरिवानाको विषयले मात्र तिमीले यो निर्णय गर्यौ होला भनेर मचाहिँ मान्न सक्दिनँ । यो राज्यसत्ताको चरित्र र सरकार सञ्चालन गर्ने व्यक्तिको सोच, विचार र कार्यशैलीको परिणाम हो । एकात्मक, केन्द्रीकृत र सामन्ती राज्यव्यवस्थाका कारण नेपाली समाजमा वर्षौंदेखि झांगिएर रहेको वर्ण तथा जात व्यवस्था, पितृसत्ता, पुँजीवादी अर्थतन्त्र र यसले फैलाएका शोषण, दमन र असमानताका जालो अनि मुठीभर शासकवर्ग र सम्भ्रान्त वर्गले गरेको हालीमुहालीको गहिरो अध्ययन गरेका आधारमा म भन्न सक्छु कि, तिमी राज्यका यिनै विभेदकारी, दमनकारी, शोषणकारी र गरिबमारा संरचनाका सिकार भएका हौ । आफूहरू मध्यमवर्गको भएको वर्तमान सरकारको घोषणा र तिमीमाथि भएको ज्यादतीले यही संकेत गर्छ । मुगुजस्तो विकट भूगोल, वर्ण तथा जात व्यवस्थाको शोषणकारी र विभेदकारी जाँतोमा पिसिएर गरिबी र अभावको अनिश्चित जीवन बिताउन बाध्य तिमी र तिमीजस्ता कैयौँ नागरिकको पीडा सुनैसुनले बनेको ‘स्वर्ण सरकार’को चासोको विषय थिएन र सायद हुँदैन पनि । 

एक नागरिकले सामान्य जीवन धान्न र यही देशमा केही गर्न खोज्दा हरेक कदममा अवरोध र पीडा भोग्नुपर्ने नियतिप्रति आमनागरिक जानकार नै छन् । यस्ता समस्या भोग्ने तिमी एक्ला होइनौ, हजारौँ नेपाली छन् । तर, यस्ता नागरिकका समस्या समाधान गर्न अभिभावकीय भूमिका खेल्नुपर्ने सरकार उल्टै गरिब, विपन्न र बेसहारा नागरिकलाई उठीवास लगाउन लागिपरेको छ । सरकार अहिले दुईतिहाइ मतको धङधङीमा अहंकारको घोडा चढेर ‘एक्सप्रेस रोड’मा सवार छ । जसको ब्रेक कहाँ पुगेर लाग्ने हो, टुंगो छैन । सवारीका क्रममा दायाँबायाँका गरिब सुकुमवासी नागरिक देख्यो भने सहरी सौन्दर्य बिगारेको निहुँमा उठीवास लगाउने सरकार गरिब र विपन्न नागरिकप्रति न्यूनतम मानवीयता र सहानुभूति राख्नसम्म आवश्यक देख्दैन । 

तिम्रा नाममा यो पत्र तयार गरिरहँदा काठमाडौंमा जबर्जस्ती उठीवासमा परेका सुकुमवासी बसेको होल्डिङ सेन्टरमा बाढीले बिचल्ली बनाएको, मिटरब्याजपीडितले न्यायका लागि जनकपुरबाट काठमाडौंतर्फ ‘न्याय मार्च’ सुरु गरेको, सर्लाहीका युवा विवेक मण्डल र काठमाडौंका व्यावसायी अश्विन राउतले आत्मदाह गरेकोजस्ता घटना सार्वजनिक भएका छन् । सार्वजनिक भएका यी प्रतिनिधिमूलक घटनाले राज्यको गैरजिम्मेवारीपन र विपन्न नागरिकका पीडा दर्साउँछ । साथै ठुलो संख्यामा नागरिकका पीडा समाजको गर्तमा सुषुप्त अवस्थामा रहेको पनि संकेत गर्छ । 

यसले ठुलालाई चैन र तिमी–हामीजस्ता गरिब, दलित, सुकुमवासी, निम्न वर्गका र गरी खाने वर्गका ऐन चरितार्थ भएको देखिन्छ । अवसर र पहुँचमा भएको यस्तो चरम असमानताले नागरिकलाई निराशा, आक्रोश र विद्रोहको बाटोतिर धकेलेको छ । 

प्रिय गणेश, तिम्रा बा, आमा, श्रीमती, छोरी र दाजुभाइसहितको घरपरिवार, मित्रजन र आफन्तजनसहितको कति सुन्दर संसार थियो होला ! कति मिठा सपना र कल्पना थिए होलान् ! तर, ती सपना पूरा गर्न नपाउँदै तिमी यस संसारबाट अलप भएका छौ । तिम्रो सपना र तिम्रो परिवारमाथि ठुलो र अकल्पनीय वज्रपात भएको छ । यसको दोषी को हो ? तिमी स्वयं वा राज्य वा व्यवस्था वा प्रणाली वा दल वा अरू कोही ? यसको दोषी समग्रतामा राज्य प्रणाली भए पनि तत्काललाई कार्यकारी भूमिका भएको सरकार नै हो । सरकार जनजीविकाका सवाल र विपन्न नागरिकका पीडाप्रति संवेदनशील नहुँदा यस्ता समस्या आउने गर्छन् । हो, तिमीले बाँचेर नै विद्रोह गर्न सकेको भए उत्तम हुने थियो । तर, सहजै नागरिक आवाज नसुन्ने सत्तालाई तिमीले सशक्त धक्का दिएका छौ । आशा छ, सरकारले जनमतको कदर गर्दै सीमान्त नागरिकलाई प्राथामिकतामा राख्नेछ । 

सबैका अधिकार सुनिश्चित भएको समाजवादउन्मुख संविधान छ देशमा । तर, किन गरिखाने र गरिबको उठीवास लाग्छ सधैँ ? यो देश कसको हो ? नयाँ संविधान र नयाँ व्यवस्था कसका लागि ल्याइएको हो ? के हामीले यो कोणबाट कहिल्यै सोच्यौँ ? चाहे ००७ सालको होस् वा ०४६ वा ०६३ को परिवर्तन, सबै हुनेखाने, ठुलाबडा र नेताहरूको खोपीमा मात्र सजिएर बस्यो । तिमी–हामीजस्ता गरिखाने, अन्याय र विभेदमा परेका वर्ग र समुदायसम्म त्यो परिवर्तन आउँदै आएन । यदि तिमी–हामीसम्म आएको भए तिमीले यसरी राज्य दमनको प्रतिरोधका नाममा आत्मदाह गर्नुपर्ने थिएन । के देश चलाउने ठेक्का लिएका दल र नेताले यसको जवाफ दिनुपर्दैन ? यो देश कसको हो?

प्रिय गणेश, तिमी र तिमीजस्ता युवाले हरेक आन्दोलनका अग्रभागमा बसेर बलिदान दिन्छन् । तर, प्रतिफल पाउने वेला वञ्चित हुन्छन् । बरु बिचौलिया, दलाल, ठेकेदार र मुठीभरका सामन्त हर्ताकर्ता हुन्छन् । उद्योग, व्यवसाय, राजनीतिमा तिनै हुन्छन् । नेताहरूको आशीर्वाद तिनैलाई हुन्छ । तिनीहरूसँग कुनै पेसा छैन, इलम छैन, उद्यम छैन, जागिर छैन, उत्पादन छैन तर विनालगानी, एक थोपा पसिना नबगाई तिनै मानिस करोडपति मात्र होइन, अर्बपति पनि बन्छन् । एक हिसाबले भन्ने हो भने राज्य संयन्त्र नै तिनको नियन्त्रणमा भएजस्तो देखिन्छ । घटनाक्रमले भन्छ, यो देश गरिखानेको भन्दा पनि लुटेर खानेको बनिसकेको छ । यस्तो प्रवृत्ति रहेसम्म देश कसरी बन्छ र तिमीजस्ता नागरिकले गरिखाने वातावरण बन्छ ? यसले एउटा गम्भीर प्रश्न पनि उठेको छ कि कस्तो परिवर्तन र कुन तन्त्र आएपछि युवाले अवसर पाउने हुन्?

गणेश, तिमीलाई आत्मदाह गर्न बाध्य पार्नेहरूलाई मेरो प्रश्न छ, तिमी र तिमीजस्ता गणेशहरूले कहिलेसम्म आत्मदाह गर्नुपर्ने हो ? कहिलेसम्म विद्रोह गर्नुपर्ने हो ? के यो देश मुठीभरका ठालुको मात्र हो ? के अहिलेको व्यवस्था सम्भ्रान्त वर्गको मोजमस्तीका लागि मात्र ल्याइएको हो र ? सर्वसाधारण जनतामाथि शोषण, दमन, विभेद र हाकाहाकी भ्रष्टाचार हुँदा त्यस्तो गर्ने बिचौलिया, दलालहरूलाई किन कारबाही हुँदैन ? राज्य किन मूकदर्शक भएर बस्छ ? नीतिगत, संरचनागत हुँदै प्रवृत्तिमा रूपान्तरित हुँदै गएको धनीलाई चैन र गरिबलाई ऐनको परिपाटीलाई चिर्ने दायित्व कसको हो ? अहिले ठुला नेतादेखि विभिन्न क्षेत्रका व्यक्तिले तिम्रो आत्मदाह राज्य संरचना र सिस्टमको असफलता हो भनिरहेका छन् । यस्तो अवस्था आउँदा तिनीहरूले किन केही गरेनन् ? अब तिनले केही गर्छन् भन्ने आशा गर्ने कि नगर्ने ? तर, अन्तिमपटक उनीहरूलाई विश्वास गर्नुको विकल्प छैन । 

सरकारले गठन गरेको छानबिन समितिले तिमीले आत्मदाह गर्नुपर्नाका सामाजिक, आर्थिक र सांस्कृतिक कारणको पहिचान गरी समस्याको गहिराइमा पुगी अध्ययन अनुसन्धान गरोस् । अनुसन्धानबाट आएका निष्कर्ष दराजमा नथन्क्याई योजनाबद्ध रूपमा कार्यान्वयन गरोस् । सरकारले यो देशको माया गर्ने र यो देशमै बसेर केही गर्न चाहने तिमीजस्ता हजारौँ युवाका समस्या सम्बोधन गरोस् । यसका लागि सबै नागरिकको हित हुने नीतिगत र कानुनी व्यवस्था होस् । त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरियोस् । देशमा विधि र पद्धतिसहितको कानुनी शासन होस् । सिंगो राज्य संयन्त्र गरिखाने, गरिब, निमुखा वर्गका पक्षमा होस्, मुखमा होइन व्यावहारमा । अनि मात्र तिमीले गरेको विद्रोहको अर्थ हुनेछ । 

गणेश, अब तिमी फर्केर आउँदैनौ भन्ने थाहा छ । तर, तिमीले जस्तो पीडा अन्य नागरिकले भोग्न नपरोस् भनी कामना गर्दै खबरदारी गर्नु हाम्रो दायित्व हो । राज्य र सरकार सञ्चालक नागरिकप्रति जवाफदेही बन्नुको विकल्प छैन । यसैले हाम्रो सुझाव छ, राज्य अब गरिब तथा विपन्न नागरिकको अभिभावक बनोस्, राज्यबाट प्राप्त हुने स्रोत, साधन र अवसरमा सीमित वर्गको मात्र हालिमुहाली हुने र गरिब तथा विपन्न नागरिक वञ्चित हुनुपर्ने अवस्था अन्त्य होस् । युवालाई रोजगारी तथा स्वरोजगारीको व्यवस्था गर्दै राष्ट्र निर्माणमा उत्साह र प्रेरणा भरोस् । राज्यसँग अधिकार माग्नेलाई कर्तव्य पनि सिकाओस् । राज्यको सामर्थ्यअनुसारको काम गरी यथार्थ जानकारी नागरिकलाई प्रदान गरोस् । नकारात्मक र घृणात्मक अभिव्यक्तिलाई निरुत्साहित गरी सत्यमा आधारित समाज निर्माण गर्नतिर लागोस् । गणेशको आत्मदाह राज्यको संरचनात्मक समस्याको परिणाम भएकाले यस्ता समस्यासँग जुझ्नका लागि राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, मिडिया र सबै सरोकारवालासँग समन्वय र सहकार्य गर्न राज्यले अग्रसरता देखाओस् । एकले अर्कालाई दोषारोपण गरेर, गाली गरेर र घृणा फैलाएर न देश बन्छ, न समाज । न गणेशहरूले न्याय पाउँछन् । यसैले, आजको वास्तविकतालाई बोध गरेर यस्ता संरचनात्मक समस्या हल गर्न र गणेश नेपालीलाई न्याय दिन साझा पहल गरौँ ।

 गणेश, ढिलोचाँडो तिमीले न्याय पाउनुपर्छ र पाउनेछौ । 

सुझावित समाचार