मिटरब्याज तथा अनुचित लेनदेनविरुद्ध जनकपुरबाट काठमाडौंतर्फ पैदल मार्च गरिरहेका आन्दोलनरत पीडितहरू बुधबार पनि गृहमन्त्री सुधन गुरुङको प्रतीक्षामा छन्। मंगलबार भएको पहिलो चरणको करिब पाँच घण्टा लामो छलफलपछि दोस्रो चरणको वार्ता हुने अपेक्षा गरिए पनि बुधबार दिउँसोसम्म वार्ता सुरु हुन सकेको छैन।
आन्दोलनरत पक्षका अनुसार गृहमन्त्री गुरुङले मागका विषयमा थप गृहकार्य गरी पुनः छलफल गर्ने आश्वासन दिएका थिए। सोही आश्वासनका आधारमा पीडितहरू निजगढमै बसेर वार्ताको प्रतीक्षा गरिरहेका छन्।
तर, गृहमन्त्री गुरुङ भने बुधबार पर्सा राष्ट्रिय निकुञ्जको भ्रमणमा व्यस्त छन्। निकुञ्ज भ्रमणका कारण आन्दोलनरत पक्षसँग तय गरिएको छलफल केही समयपछि हुने बताइएको छ। गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री निकुञ्ज भ्रमण सकेपछि पुनः मिटरब्याजपीडितसँग वार्तामा सहभागी हुने तयारी छ।
निजगढमा रहेका पीडितहरूले भने सरकारसँगको वार्ताबाट आफ्ना मागको ठोस सम्बोधन हुने अपेक्षा गरेका छन्। उनीहरूले फर्जी लिखत खारेज, मिटरब्याजसम्बन्धी विशेष कानुन निर्माण, विशेष न्यायाधिकरण गठन, सुदखोरको सम्पत्ति छानबिन तथा पीडितको सम्पत्ति फिर्तालगायतका माग दोहोर्याएका छन्।
पीडित पक्षले वार्ताबाट सकारात्मक निष्कर्ष ननिस्किए आन्दोलनलाई थप सशक्त बनाउँदै काठमाडौंतर्फको पैदल यात्रा निरन्तर जारी राख्ने चेतावनी दिएका छन्। यद्यपि, दुवै पक्ष संवादबाटै समाधान खोज्ने पक्षमा देखिएकाले बुधबार हुने भनिएको अर्को चरणको वार्तालाई चासोका साथ हेरिएको छ।