नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। एमालेको निर्णयसँगै सुदूरपश्चिम सरकार अल्पमतमा परेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चारैजना मन्त्रीलाई आज बर्खास्त गरेपछि एमालेको निर्णय आएको हो। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए। सुदूरपश्चिममा बजेट विवाद चर्किएपछि सत्ता गठबन्धन टुटेको छ।
नेता रावलले साढे पाँच अर्बभन्दा बढी रकम मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्रमा हालेको र बजेटमा मनोमानी गरेकाले बजेटलाई एमालेले अस्वीकार गरेको बताए। मुख्यमन्त्री शाह आफ्नै दलभित्र अल्पमतमा परेपछि एमालेका मन्त्रीहरू हटाएको आरोप रावलले लगाए।
भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउद बर्खास्तीमा परेका हुन्।
एमालेले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् भने सरकारले सदनमा प्रस्तुत गरेको बजेट पनि अलपत्र परेको छ। असार मसान्तभित्र प्रदेश सभाबाट बजेट पारित भइसक्नुपर्ने व्यवस्थाअनुसार बजेट पारित गर्नुपर्ने समय अब एक दिन मात्र बाँकी छ। सरकार आफैँ अल्पमतमा परेकाले बजेट पारित हुने सम्भावना छैन।
एमालेले बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्दै आएको थियो। सत्तापक्षबिचको विवादले सदनमा बजेटमाथि दफावार छलफल नै हुन सकेको छैन। कांग्रेस–एमालेबिच बजेट भागबन्डाको विवादका बिच आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले गत १ असारको मध्यराति ३७ अर्ब ७० करोडको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए।