सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका निलम्बित प्रबन्ध–निर्देशक पौडेललाई उक्त कसुरमा कैद सजाय सुनाइएको छ ।
उनले २३ करोड ७५ लाख रुपैयाँभन्दा बढी गैरकानुनी स्रोतबाट आर्जन गरेको दाबीसहित मुद्दा दायर भएकोमा यसको झन्डै आधा रकम मात्र अवैध रहेको ठहर विशेषले गरेको छ । विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मंगलबार यस मुद्दामा आंशिक ठहरको फैसला गरेको हो ।
विशेषका अनुसार पौडेलको वैध आय दुई करोड २१ लाख हुनुपर्नेमा १४ करोड ९७ हजार रुपैयाँभन्दा बढी व्यय गरेको देखिएको छ। प्रतिवादी पौडेलले १२ करोड ७५ लाख रुपैयाँको वैध स्रोत देखाउन नसकेको भन्दै सजाय सुनाइएको हो । अख्तियारले ०८१ वैशाख ९ मा पौडेल तथा उनका दाइ अनिल पौडेललाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।
विशेषका अनुसार उनले गैरकानुनी सम्पत्ति आर्जन गरेकाले दुई वर्ष कैद सजाय तोकिएको छ । उनी कार्यकारिणी पदमा बहाल रहेको बखत गरेको भ्रष्टाचार भएका कारण थप ६ महिना कैद सजाय हुने मंगलबार जारी संक्षिप्त फैसलामा छ । पौडेलले अपराध पीडित संरक्षण ऐनअनुसार ५१ लाख दुई हजार रुपैयाँभन्दा बढी रकम क्षतिपूर्ति शुल्क तिर्नुपर्नेसमेत फैसला भएको छ ।
अध्ययन, परामर्श तथा वैदेशिक छात्रवृत्तिको रकमलाई आरोपपत्रमा मान्यता नदिइएकोमा करार सेवामा रहेका बखत अन्य पारिश्रमिक आउने सेवाबाट आय गर्नुलाई अन्यथा मान्न नहुने विशेषको ठहर छ । सिप तथा शैक्षिक योग्यताअनुसार पौडेलले कर दाखिला गरी गरेको आयलाई मान्यता दिनुपर्ने भन्दै छात्रवृत्तिमा जीवन निर्वाहका लागि दिइएको रकमबाट भएको बचत र विभिन्न कलेजहरूमा अध्यापन गराएबापत प्राप्त पारिश्रमिक पनि आयमा गणना गरेको छ ।
पौडेलले सिंगापुरको कुनै पनि बैंकमा खाता नरहेको बताएका थिए । तर, उनले प्रयोग गर्ने डिभाइसको परीक्षण प्रतिवेदन र आधिकारिक निकायको पत्रलाई आधार मान्दै साढे १३ करोड रुपैयाँ जम्मा भएको ठहर विशेषले गरेको छ । यद्यपि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलका दाइ अनिल पौडेलको नाममा सुनीलले सम्पत्ति खरिद गरी राखेकाले तीसमेत जफत गर्नुपर्ने मागदाबी गरेकोमा दुवैबिच अंशबन्डा भइसकेकाले विशेषले सो दाबी अस्वीकार गरेको छ ।