कर्णाली सरकारमा सामेल कांग्रेसका मन्त्रीले दिए राजीनामा

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन्। बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री यामलाल कँडेल हुँदा ०८१ साल साउनमा कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरमन्त्रीमा सुरेश अधिकारी मन्त्री भएका थिए ।

बुधबार बिहान सबै मन्त्रीले राजीनामा दिएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए। उनले हामी सबै मन्त्रीले राजनीनामा दिएको स्वीकृतिको पर्खाइमा रहेको बताए। उनीहरूको राजीनामा मुख्यमन्त्री कँडेलले स्वीकृत गरेका छैनन् । त्यस्तै, कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि बसेको मन्त्रिपरिषद्को बैठकले ६ वटा निर्णय गरेको छ ।

कर्णाली प्रदेश अनुगमन तथा मूल्यांकन विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, व्यवस्थापन परीक्षण निर्देशिका, २०८३ स्वीकृत गर्ने, निर्देशनालयको नाम हेरफेर, खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्यसम्पादन गर्ने, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई थप जिम्मेवारीसहित कामकाजमा खटाउने, कर्णाली प्रदेश बिउबिजन नियमावली, २०८३ स्वीकृत गर्ने र सडक मर्मतसम्भार निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।

सुझावित समाचार