नेकपा सांसद रमेश मल्लले गणेश नेपालीको आत्मदाहपछि भएको निधनको घटनाले सिंगो देशलाई तरंगित बनाएको भन्दै उक्त घटनालाई तोडमोड गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मल्लले उक्त घटनालाई गलत साबित गर्ने उद्देश्यले राजधानीमा पछिल्ला दुई दिन भएका गतिविधि गम्भीर रहेको बताए। आइतबार राज्य संरक्षित व्यक्तिहरूबाट न्युरोडलगायत राजधानीका मुख्य सडक र गल्लीहरू दिनभर अवरुद्ध बनाउनु र सोमबार हिजो मिडिया हाउसअगाडि तथा प्रमुख प्रतिपक्षी दलका नेताको घरअगाडि समेत सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गर्नु गम्भीर विषय भएको उल्लेख गरे ।
सांसद मल्लले सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई पाँच सयदेखि लाखौँ रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको स्मरण गराउँदै, यस्ता घटनामा संलग्न सवारीसाधनलाई केवल पाँच सय रुपैयाँको चिट काटेर छाड्नु कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। उनले सम्बन्धित सवारीसाधनबाट कानुनअनुसार लाखौँ रुपैयाँ जरिवाना असुल गरेर गाडी जफत गर्न तथा घटनाको योजना बनाउने र संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कारबाही गर्न माग गरे।
राजस्व अनुसन्धान विभागले समेत यस विषयमा वक्तव्य जारी गरिसकेको उल्लेख गर्दै सांसद मल्लले सत्तारूढ दलले घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए। उनले जनताले दिएको मतादेशको सम्मान गर्न आग्रह गर्दै यस्ता गतिविधि दोहोरिए जनताले मतादेश फिर्ता लिने अवस्था सिर्जना हुन सक्ने चेतावनी पनि दिए।