मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाले बगाएको स्कुटर फेला परेको छ । खोजीका क्रममा बाढीले बगाएको स्कुटर मंगलबार बिहान फेला परेको हो । बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अविरल वर्षासँगै खोलामा आएको आकस्मिक बाढीले बगाएर बेपत्ता भएका स्कुटरका चालकको भने खोजीकार्य जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार अपराह्न करिब ३ बजेतिर सिमखोला तर्ने क्रममा स्कुटरसहित चालक बाढीमा बगेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको थियो । संयुक्त टोलीले खोलामा खोजी गर्ने क्रममा स्कुटर फेला पारेको भए पनि चालक अझै भेटिएका छैनन् । तीव्र बहावका कारण सोमबार खोजीकार्यमा कठिनाइ भएपछि आज बिहानैबाट स्कुटर र चालकको खोजी भइरहेको थियो ।
मकवानपुर प्रहरीका अनुसार बेपत्ता भएका व्यक्तिको परिचय खुल्न बाँकी छ। स्कुटरको नम्बर र चालक कहाँबाट कहाँ जाँदै थिए भन्ने विवरणसमेत यकिन भइसकेको छैन । प्रारम्भिक जानकारीअनुसार बेपत्ता व्यक्ति पुरुष हुन् ।