गजलकार कमल संघर्ष ‘स्रष्टा सम्मान २०८२’ बाट सम्मानित भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले साहित्यका माध्यमबाट नेपाली भाषा–साहित्यको विकास तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको भन्दै अछामको मंगलसेन नगरपालिका– ६ निवासी कमल संघर्ष (कमलप्रसाद भण्डारी)लाई सम्मान गरेको हो।
भानुजयन्ती २०८३ को अवसरमा आयोजित प्रदेशिक प्रतिभा पुरस्कार तथा सम्मान कार्यक्रममा संघर्षसहितका अन्य स्रष्टाहरूलाई पनि नगद रकमसहित सम्मानपत्र प्रदान गरिएको छ। प्रतिष्ठानले भाषा, साहित्य तथा एकीकृत सामाजिक रूपान्तरणका क्षेत्रमा दिएको योगदानको मूल्यांकन गर्दै विभिन्न स्रष्टाहरूलाई सम्मान गरेको जनाएको छ।
स्रष्टा सम्मान २०८२ बाट सम्मानित संघर्ष नेपाली साहित्यका सक्रिय स्रष्टा हुन्। उनका कैफियत (२०७२), सडक (२०७३), खुडी (२०७९) जस्ता गजलसंग्रह प्रकाशित छन्। उनको खस भाषाको कृति ‘हियाका कुडा’ पनि प्रकाशित छ। मूलतः साहित्यको गजल विधामा सक्रिय संघर्ष सुदूरपश्चिम–कर्णालीको भाषा, कला, साहित्यसँग पुरातात्त्विक सम्पदाहरूको खोज तथा अनुसन्धानमामा समेत सक्रिय छन्।
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका कुलपतिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री बेलबहादुर रानामगरलगायतका अतिथिले सम्मान गरेका हुन्।