ऊर्जामन्त्री श्रेष्ठको सक्रियतामा मार्की चोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु

अब चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्म झ्याप–झ्याप बत्ती जान कम हुने

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

मार्की चोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ। ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा शनिबार दिउँसो ३ बजेदेखि विद्युत् प्रवाह सुरु भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मार्की चोक भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनका लागि मन्त्री श्रेष्ठले फिल्डमै गएर पहल गरेका थिए। उनले स्थानीय पालिकाका जनप्रतिनिधि र स्थानीयसँग संवाद गरेका थिए। 

२२० केभी प्रसारण लाइन सञ्चालनमा आई विद्युत् प्रवाह सुरु भएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मका नागरिकका लागि विद्युत् सेवा सहज हुनेछ। ‘यससँगै क्षेत्रीय विद्युत् प्रसारण थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्नेछ। ट्रिपिङ तथा ‘झ्याप–झ्याप’ बत्ती जाने समस्या न्यूनीकरणमा यो प्रसारण लाइनले महत्त्वपूर्ण योगदान पुर्याउनेछ,’ मन्त्री श्रेष्ठले भने।  

विशेष गरी बर्खायाममा यस क्षेत्रका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको सम्पूर्ण विद्युत् सहज रूपमा भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न अब ठुलो सहयोग पुग्ने उनले बताए। यसअघि कम क्षमतामा पावर हाउस सञ्चालन गर्नुपर्ने बाध्यतासमेत हट्दै जाने मन्त्री श्रेष्ठको भनाइ छ। निजी क्षेत्र र सरकारबीचको सफल सहकार्यबाट उपयोग हुन नसकेको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित हुने मन्त्रालयले जनाएको छ। ‘यो नेपालको ऊर्जा आत्मनिर्भरता र समृद्धिको यात्रामा अर्को महत्त्वपूर्ण कदम हो,’ मन्त्री श्रेष्ठले भनेका छन्। 

तनहुँको मार्की चोकस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह सुरु भएको हो।

सुझावित समाचार