नेकपा एमालेले जनतालाई संरक्षण दिनुपर्ने राज्य आफैँ गाँस र बास खोस्न उद्यत रहेको भन्दै सरकारको आलोचना गरेको छ। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एमाले महासचिव शंकर पोखरेलले पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा अघि सारेर सत्तामा पुगेको सरकारले शृंखलाबद्ध जनविरोधी कार्य गरिरहेको बताएका हुन्।
२५ वर्षीय गणेश नेपालीको आत्मदाहको घटनामा दुःख व्यक्त गर्दै एमालेले भनेको छ, ‘पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा अघि सारेर, जनमत बटुली सत्तामा पुगेको वर्तमान सरकार आफ्ना शृंखलाबद्ध जनविरोधी कार्यहरूका कारण जनसमक्ष पूर्ण रूपमा नांगिँदै गएको छ। आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफैँ निमुखा नागरिकको गाँस र बास खोस्न उद्यत हुनु अत्यन्तै विडम्बनापूर्ण र निन्दनीय विषय हो।’
उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन एमालेले माग गरेको छ।
‘सरकारको स्वेच्छाचारी र बलमिच्याइँपूर्ण व्यवहारका कारण हालसम्म चारजना सुकुमवासी नागरिकले आत्महत्याजस्तो आत्मघाती निर्णय लिन बाध्य भएका छन् भने सयौँ नागरिक डिप्रेसनको सिकार बनेका छन्,’ विज्ञप्तिमा भनिएको छ।
सरकारले होल्डिङ सेन्टरहरूबाट समेत नागरिकलाई हठात् हट्न अल्टिमेटम दिने, धाकधम्की दिने र भोकमरीको जोखिममा धकेल्नेजस्ता अमानवीय कार्य गरेको भन्दै एमालेले भनेको छ, ‘लोकतन्त्रमा जनमत वा जनादेशको अर्थ स्वेच्छाचारिता र निरंकुशता कदापि हुन सक्दैन। नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकको बाँच्न पाउने अधिकार र सुरक्षित आवासको अधिकारको पूर्ण सम्मान गर्न हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ। गरिब र निमुखा नागरिकमाथिको दमन तत्काल बन्द गरी उनीहरूको उचित विकल्प र सुरक्षित व्यवस्थापन गर्न नेकपा एमाले जोड्दार माग गर्दछ।’
