राज्यको व्यवहार बदल्न योगेश भट्टराईको आग्रह, भने- गणेश नेपालीहरू हेपिन तयार छैनन्

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले)का नेता योगेश भट्टराईले राज्यका क्रूर र अमानवीय व्यवहारका कारण नागरिकहरू आत्महत्या र आत्मदाहजस्ता चरम कदम चाल्न बाध्य भइरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले राज्य र सरकारले आफ्नो कार्यशैली तथा व्यवहार तत्काल परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले संविधान, कानुन, लोकतन्त्र, मानव अधिकार तथा नेपाली समाजले निर्माण गरेको सभ्यता र संस्कृतिको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन्।

भट्टराईले योगमाया न्यौपानेले अरुण नदीमा रोजेको जलसमाधिको प्रसंग स्मरण गर्दै त्यस्तो साहसिक निर्णय नेपालमा निरंकुश राणाशासनको अन्त्यको बीजारोपण बनेको उल्लेख गरेका छन्।

उनले सरकारलाई सम्बोधन गर्दै भनेका छन्, ‘राज्य र सरकार, कार्यशैली बदल, व्यवहार बदल। तिमीभन्दा माथि संविधान छ, कानुन छ, लोकतन्त्र र मानव अधिकार छन्। नेपाली समाजले निर्माण गरेको सभ्यता र संस्कृति छ। यो सबैको सम्मान गर। तिमीसँग अर्को कुनै विकल्प छैन।’

साथै, उनले ‘गणेश नेपालीहरू अब हेपिन तयार छैनन्’ भन्दै नागरिकको असन्तुष्टि र आक्रोशलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

सुझावित समाचार