भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई वितरणको अन्तिम चरणमा पुगेको सात बिघाभन्दा बढी ऐलानी जग्गा त्रियुगा नगरपालिकाले फिर्ता लिने प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले वडा नम्बर ९ गैरुनस्थित इँटाभट्टा दक्षिणतर्फ सरस्वती टोल विकास क्षेत्रमा पर्ने जग्गाको निस्सा बदर गर्ने निर्णय गरेपछि जग्गाको प्रतीक्षामा रहेका १७ जना लाभग्राही अन्योलमा परेका छन् ।
त्रियुगा नगरपालिकाको भूमि व्यवस्था शाखाले सार्वजनिक सूचना जारी गर्दै ऐलानी जग्गाको फाराम संकलन, नापजाँच, कम्प्युटर प्रविष्टि तथा निस्सा वितरण भइसकेको जग्गाको निस्सा बदर प्रक्रिया अघि बढाइएको जनाएको छ । नगरपालिकाका अनुसार २९ जेठमा बसेको ६२औँ कार्यपालिका बैठकले खेलमैदान तथा विद्यालयका लागि आवश्यक सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको त्रियुगा नगरपालिकाका भूमि व्यवस्थापन शाखा प्रमुख इन्जिनियर रूपक तिमल्सिनाले मंगलबार जारी गरेको सूचनामा छ । ‘यो अघिल्लो मेयर बलदेव चौधरीको पालामा दिने निर्णय भएको हुन सक्छ । मलाई प्रस्ट थाहा भएन । तर, हाललाई कार्यापालिकाको बैठकले निर्णय गरेको हो,’ उनले भने ।
नगरपालिकाको निर्णयसँगै सम्बन्धित १७ जनाको निस्सा रद्द गरिएको छ । यसअघि उनीहरूले सरकारी प्रक्रियाअनुसार आवेदन दिएका, नापजाँच गराएका र निस्सासमेत प्राप्त गरिसकेका थिए । अब भने त्यही निस्सा बदर हुने भएपछि उनीहरूले जग्गा पाउने अपेक्षा अनिश्चित बनेको छ । सार्वजनिक प्रयोजनका लागि आवश्यक जग्गा वितरण प्रक्रिया सुरु हुनुअघि नै छुट्याउनुपर्नेमा सबै प्रक्रिया सम्पन्न भएपछि निस्सा बदर गरिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
भूमि व्यवस्था शाखाले जारी गरेको सूचनाअनुसार निस्सा बदर प्रक्रियामा परेका १७ जनाको नामावलीसमेत सार्वजनिक गरिएको छ । त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले भने, ‘अघिल्लो मेयरकै कार्यकालमा जग्गा दिने तयारी भएको रहेछ । सोही कारण बदर गर्ने निर्णय गरिएको हो । त्यस ठाउँमा खेलमैदान बनाउने भनिएको छ ।’