मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

मकवानपुरको मनहरी गाउँपालिका– ७, रमणटारअन्तर्गत पूर्व–पश्चिम राजमार्गमा आइतबार राति यात्रुवाहक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घटनामा अन्य चारजना सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राति करिब ११ बजे वीरगन्जबाट लमजुङतर्फ जाँदै गरेको ना.५ख ५३१९ नम्बरको बसको स्टेयरिङको टाइरड भाँचिएपछि बस अनियन्त्रित भई सडकको दाहिनेपट्टि कोल्टो परेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा बसचालक सर्लाही निवासी ३९ वर्षीय भीमबहादुर विक गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । यस्तै, भरतपुर महानगरपालिका– ४ का ३० वर्षीय सञ्जय तामाङ, पर्साको परवानीपुर नगरपालिका– २३ का ५४ वर्षीय मोहम्मद अजाद, बाराको देवताल गाउँपालिका– १ का २३ वर्षीय राजकुमार राम र भारतको मोतीहारी जिल्लाका २५ वर्षीय सुदिर कुमार सामान्य घाइते भएका छन् ।

बसमा सवार १६ यात्रुमध्ये घाइते भएका पाँचजनाको उद्धार गरी मनहरी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

सुझावित समाचार