बाँकेको नरैनापुर गाउँपालिकाका स्थानीय बजारमा अहिले पनि भारतीय मुद्रा (भारु)मा कारोबार हुने गरेको छ । भारतसँग सीमा जोडिएको गाउँपालिका नरैनापुरमा गएर खाजा खाने वा कुनै सामान किनमेल गर्ने नयाँ व्यक्ति अलमलमा पर्ने गर्दछन् । व्यापारीले भारुमा मोल गरेका कारण त्यहाँ जाने नयाँ मान्छे अलमलमा पर्ने गर्दछन् ।
नरैनापुरमा अहिले पनि भारुमा मोलमोलाइ हुने गरेको मोटरसाइकल मर्मत सेन्टरका दिनेश मौर्यले बताए । उनले नेपाली रुपैयाँ प्रचलनमा रहे पनि मूल्य भारुमा हुने गरेको बताए । ‘नेपाली रुपैयाँ पनि लिन्छौँ, तर मोलमोलाइ भारुमा हुन्छ,’ उनले भने, ‘नेपाली रुपैयाँमा मोलमोलाइ गर्दा महँगो भयो भनेर ग्राहक भाग्छन् । यहाँका ग्राहकले बुझ्दैनन् ।’
नरैनापुरमा नास्ता पसल सञ्चालन गर्दै आएका रामफेरन यादवले पनि खाजा खाएको रकम भारुमै लिने गरेको बताए । ‘पहिलेदेखि चल्दै आएको चलन अझैँ कायमै छ । भारुमा कारोबार गर्ने बानी अझै हटेको छैन,’ उनले भने, ‘नेपाली रुपैयाँ पनि लिन्छौँ, तर भारुमा रूपान्तरण गरेर लिन्छौँ ।’
स्थानीय बासिन्दा नझुक्किए पनि यहाँ जाने नयाँ व्यक्ति झुकिन्छन् । कामका सिलसिलामा नरैनापुर आएका नेपालगन्जका अभिषेक डाँगी झुक्किनेमध्येका एक हुन् । नरैनापुरमा खाजा खाएका उनी पसलेले भनेको रकम नेपाली रुपैयाँ भएको सम्झिए, तर पसलेले उक्त रकम भारुमा भनेको उनले बताए । ‘मैले नेपाली रुपैयाँमा भनेको होला भन्ने सम्झिएँ, तर पसलेले भारु भनेका रहेछन्,’ उनले भने, ‘नेपाल हो नेपाली रुपैयाँमा कारोबार हुन्छ भन्ने लागेको थियो, तर नेपाली रुपैयाँ चले पनि भारुमा मोलमोलाइ हुँदोरहेछ ।’
पहिलेको भन्दा केही परिवर्तन भएको स्थानीय लक्ष्मीकान्त मिश्रले बताए । अघिल्लो स्थानीय निर्वाचनअघि नेपाली रुपैयाँ नचले पनि अहिले नेपाली रुपैयाँ चलनचल्तीमा रहेको उनले बताए । ‘पहिले नेपाली रुपैयाँ नै चल्दैनथ्यो । अहिले चल्न थालेको छ, तर सामानको मोलमोलाई भारुमा हुन्छ,’ उनले भने, ‘पहिलेको भन्दा धेरै सुधार भएको छ ।’
नेपालगन्जसँग सिधा सम्पर्क बढेपछि नेपाली रुपैयाँको चलनचल्ती बढेको उनले बताए । ‘पहिले भारतीय बजारमा निर्भर थियौँ । सडक बनेर नेपालगन्जसँग सिधा सम्पर्क भएपछि भारतीय बजारमा किनमेल गर्ने क्रम घटेको छ,’ उनले भने, ‘भारतीय रुपैयाँमा कारोबार गर्ने पहिलेदेखिको बानी हट्न नसकेकाले भारुमा मोलमोलाइ हुन्छ ।’