कवि नदीश पेसाले डेटा आर्किटेक्ट हुन् । केही समययता उनी प्रवासमा बसेर काव्य साधना गरिरहेका छन् । ०७४ मा पहिलो कविताकृति ‘हाँगामा झुन्डिएको आत्मकथा’ प्रकाशनमा ल्याएका उनको दोस्रो कवितासंग्रह ‘हिउँद’ केही समयअघि प्रकाशनमा आएको छ । थोरै शब्दमा भावको गहिराइ व्यक्त गर्ने नदीश युवाहरूमाझ रुचाइएका कवि हुन् । उनीसँग मीनराज बसन्तले गरेको पुस्तक वार्ता :
दोस्रो कवितासंग्रह ‘हिउँद’को प्रक्रिया कस्तो आइरहेको छ ?
स्वदेश, विदेश सबैतिरबाट किताबलाई आत्मीयताका साथ स्वागत गर्नुभएको छ । समकालीन र अग्रज स्रष्टाहरूबाट उत्साहजनक प्रतिक्रिया त आइरहेकै छन्, सबैभन्दा सुखद कुरा कविता धेरै नयाँ र विशेष गरी युवा पाठकमाझ पुगेका छन् । कविता र साहित्यको नियमित घेराभन्दा बाहिरका, विभिन्न पेसा र क्षेत्रमा सक्रिय मानिससम्म पनि पुगेर किताबले जुन असर छोडेको छ, त्यसले अझ बढी खुसी दिएको छ । आफूले भन्न खोजेको, महसुस गरेको कुराको नजिक भएर कविता बगेको अनुभूति सुनाउनुहुन्छ । संग्रहवाचनकै कार्यक्रममा पनि कवितामा पूरै भिजेका अनुहारहरू पढेको छु, जसको आभाले मलाई थप उत्साहित र जिम्मेवार बनाएको छ ।
पहिलो कवितासंग्रह ‘हाँगामा झुन्डिएको आत्मकथा’को तुलनामा ‘हिउँद’का कविता शिल्प–संरचनाका हिसाबले फरक देखिन्छन् । एउटा कविका लागि कुनचाहिँ कुरा महत्वपूर्ण हो– आफ्नै पुरानो शैली पछ्याइरहनु वा नयाँ निर्माण गर्नु ?
मेरा लागि शैलीभन्दा पनि कविता स्वयं महत्वपूर्ण हो । आफ्नो अनुभूति, विचार वा संवेदनालाई सबैभन्दा इमानदार र प्रभावकारी ढंगले कसरी व्यक्त गर्न सकिन्छ भन्ने कुरामै मेरो ध्यान हुन्छ । शैली त त्यस प्रक्रियामा आफैँ निर्माण हुँदै जाने कुरा हो जस्तो लाग्छ । मानिस बदलिन्छ, उसका अनुभव बदलिन्छन्, उसले संसारलाई हेर्ने दृष्टि बदलिन्छ । त्यसैले शैली पनि स्थिर रहँदैन, त्यो स्वाभाविक रूपान्तरित हुँदै जान्छ । मलाई लाग्छ, शैली भनेको कविता साधनाको उपज हो । अर्को कुरा, हरेक नयाँ अनुभव र नयाँ विषयले आफ्नै भाषा र संरचना खोज्छ । कहिलेकाहीँ पुरानो शैलीले त्यो कुरा धान्न सक्दैन, त्यसैले कविता आफैँले नयाँ बाटो खोज्न थाल्छ । मचाहिँ कसरी आफूलाई सकेसम्म सत्य र हुबहु रूपमा व्यक्त गर्न सक्छु भन्ने चिन्तामा हुन्छु । यदि त्यस क्रममा नयाँ शिल्प वा शैली जन्मिन्छ भने त्यो कविताको आफ्नै आवश्यकता हो, योजनाबद्ध निर्माण होइन ।
‘हिउँद’का प्रायः कवितामा कवि अलि बढी निराश सुनिन्छन्, किन ?
निराशा जरुर छ ‘हिउँद’भित्र । तर, आशा पनि उत्तिकै छ । कठ्यांग्रिने जाडो पनि छ, पारिलो घाम पनि छ । सायद केही पाठकले कवितामा गहिरो उदासी वा चिन्ता महसुस गर्नुहुन्छ होला । त्यो निराशाभन्दा पनि जीवन र प्रकृतिप्रतिको संवेदनशीलता हो । हामी बाँचेको समय, समाज, प्रकृति र मानवीय सम्बन्धलाई लिएर मेरा केही सघन चिन्ता छन् । ती कवितामा आएका छन् ।
जागिरे जीवनमाथि लेखिएको ‘बिदा निवेदन’ कवितामा आफू इस्पात बनेको र आफू आफैँदेखि टाढा भाग्न चाहेको कुरा गर्नुभएको छ । कर्पोरेट दुनियाँले कवि–संवेदनालाई कत्तिको हानि पुर्याइरहेको छ ?
कर्पोरेट दुनियाँले सकभर संवेदना छिन्न खोज्छ नै । त्यसले हामीलाई फुर्सदिलो भएर आत्मचिन्तन गर्न दिँदैन । सकेसम्म व्यस्त, उत्पादक र निरन्तर दौडमा रहन बाध्य बनाउँछ । धेरैजसो अवस्थामा कठोर, प्रतिस्पर्धी र ‘रुथलेस’ बन्नुलाई नै सफलताको मापदण्डको रूपमा स्थापित गरिन्छ र त्यसैलाई पुरस्कृत गरिन्छ । आज विश्वको अधिकांश प्राकृतिक स्रोत र सम्पत्तिमाथि सीमित मानिसहरूको नियन्त्रण छ र त्यसको अतिदोहन पनि । तर, मान्छेको लालसाको भने अन्त्य छैन । यही संरचनाभित्र हामी आफ्नो जीविकोपार्जनका लागि इस्पात मानव बन्न बाध्य छौँ र बिस्तारै आफ्नै संवेदनाबाट, भित्री मान्छेबाट टाढिँदै छौँ । हामीले जसरी प्रकृतिको अतिदोहनलाई प्रगति या समृद्धि भनिरहेका छौँ, यो पृथ्वीको आयु र मानवीय हितको दृष्टिले समयको फराकिलो क्यानभासमा हेर्दा केही पलको भ्रम मात्र हो । समग्र मानव जीवन त झन्झन् विपन्न हुँदै गइरहेको देख्छु ।
दिनानुदिन प्रविधिका उन्नत प्रणाली विकसित भइरहेका छन् । अहिले मानिससँग सूचनाको चाङ त छ । तर, एकाग्रता भने हराउँदै गएको छ । यस्तो समयमा कविका लागि कविता बढी आवश्यक हो कि अल्गोरिदम ?
अल्गोरिदमबाट निर्देशित हुनु त हाम्रो जीवनशैलीकै हिस्सा बनिसकेको छ । हाम्रो रुचि, सोच, चालचलनलाई धेरै हदसम्म अल्गोरिदमले नै प्रभावित गरिरहेको छ । यो आवश्यक थिएन भन्ने लागे पनि अब यो हाम्रो समयको यथार्थ हो । जति हाम्रो जीवनलाई अल्गोरिदमले निर्देशित गर्दै जान्छ, कविता त्यति नै आवश्यक हुँदै जान्छ । अल्गोरिदमले गति, दक्षता या सूचना देला । तर, कविताले प्रश्न दिन्छ, जीवनदर्शन दिन्छ, आशा दिन्छ, प्रेम दिन्छ, संवेदना र आत्मचिन्तनको ठाउँ दिन्छ । अल्गोरिदमले हाम्रो समयलाई परिभाषित गरिरहेको छ भने कविता त्यो समयलाई मानवीय बनाइराख्ने शक्ति हो । प्रविधि जति अगाडि बढ्दै जान्छ कविता त्यति नै सान्दर्भिक र महत्वपूर्ण बन्दै जान्छ ।
परदेशमा पसेर कविता लेखिरहँदा नेपालको कुन पक्ष बढी सम्झिनुहुन्छ ?
स्मृतिका रूपमा, भाषा र संस्कृतिका रूपमा, मानिस र सम्बन्धका रूपमा । दूरीले कतिपय कुरा झन् स्पष्ट देखाउँछ । नेपाल केवल एउटा भूगोलको रूपमा मात्र भन्दा पनि मेरो चेतना र संवेदनाको आधारभूमिका रूपमा आइरहन्छ ।
अमेरिकातिर अहिले कविता लेखनको माहोल कस्तो छ ? त्यहाँ कस्ता कविता लेखिइरहेका छन् ?
यताको ‘कस्मोपोलिटन’ समाज आफैँमा एउटा विशाल कविताजस्तो लाग्छ । संसारभरबाट आएका मानिसहरू आ–आफ्ना संस्कृति, स्मृति, भाषा र कथा बोकेर यहाँ बाँचिरहेका छन् । यहाँ पनि उनीहरूका आ–आफ्ना संघर्षका अनेक व्यथा छन् । भिन्नभिन्न स्वादका समाजबाट आइपुगेर एउटै समाजभित्र मिसिन आइपुगेका फरक–फरक मनोविज्ञान, जीवनदृष्टिको कोलाजभित्र जताततै कविता पोखिएजस्तो लाग्छ । यही कारणले होला यहाँको कविता लेखन अत्यन्तै विविध र खुला छ । यहाँका कविताहरूमा विषेशत पहिचान, आप्रवासन, मानसिक स्वास्थ्य, सामाजिक न्याय, आध्यात्म, जलवायु संकट र दैनिक जीवनका अनुभव प्रमुख रूपमा अभिव्यक्त भएको पाउँछु । धेरैजसो कविता सूक्ष्म व्यक्तिगत अनुभूतिबाट सुरु भएर व्यापक मानवीय र सामाजिक प्रश्नसम्म पुग्छन् ।
तपाईं कविता, कफी र पदयात्राको अम्मली हुनुहुन्छ । यीमध्ये कुनचाहिँ तत्वले तपाईंभित्रको कवित्वलाई बचाइरहेको छ ?
यी तीन तत्वसँगसँगै सबैभन्दा महत्वपूर्ण तत्व– केही राम्रा कवि, लेखक र सर्जकहरूसँगको संगत हो जस्तो लाग्छ । राम्रो संगतले निरन्तर पढ्न, सोच्न, प्रश्न गर्न र आफूलाई पुनः हेर्न प्रेरित गरिरहन्छ । एउटा गज्जब संवाद, राम्रो पुस्तकको सिफारिस या छोटो भेटघाटले पनि महिनौसम्म ऊर्जा दिइराख्छ ।