निर्वाचन आयोगमा प्रमुख आयुक्त र दुई आयुक्त सिफारिस

शनिबार, २० असार, २०८३
डिजिटल संस्करण

संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ । कार्की हाल सर्वोच्च अदालतका रजिस्ट्रार हुन् । शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मोरङनिवासी उनलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको उपसभामुख रुबी ठाकुरले बताइन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।

परिषद्ले निर्वाचन आयोगका दुई आयुक्तका लागि पनि नाम सिफारिस गरेको छ । काठमाडौंका डा. राजीव सुब्बा र ओखलढुंगाका गुरुप्रसाद वाग्लेलाई आयुक्त नियुक्तिका लागि सिफारिस गरिएको उपसभामुख ठाकुरले बताइन् । डा. सुब्बा नेपाल प्रहरीका अवकाशप्राप्त अधिकारी हुन् भने वाग्ले पूर्वसहन्यायाधिवक्ता हुन् ।

निर्वाचन आयुक्त ईश्वरी पौड्यालको कार्यकाल समाप्त भएसँगै आयोगमा एक आयुक्त पद रिक्त छ । साथै, कामु निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ६५ वर्षे उमेरहदका कारण २३ असारदेखि अनिवार्य अवकाशमा जाने भएकाले अर्को पद पनि रिक्त हुने भएको छ ।

त्यसको तयारीस्वरूप परिषद्ले दुई नयाँ आयुक्त सिफारिस गरेको हो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

सुझावित समाचार