डिपिआरअनुसार बजेट अभावले सुस्तायो त्रियुगा नदी नियन्त्रणको काम

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण
डिपिआरअनुसार बजेट अभावले सुस्तायो त्रियुगा नदी नियन्त्रणको काम

त्रियुगा नदी नियन्त्रणका लागि त्रियुगा नगरपालिका– १२, बोटेटोल क्षेत्रमा निर्माणाधीन तटबन्ध ।

त्रियुगा नदी नियन्त्रणको काम बजेट अभावका कारण सुस्त बनेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी ०७९ देखि सुरु गरिएको तारजालीसहितको तटबन्ध निर्माण कार्य पर्याप्त बजेट नपाउँदा अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।

उदयपुरको सदरमुकाम गाईघाट हुँदै त्रियुगा, चौदण्डीगढी, बेलका तथा सप्तरीको सप्तकोशी नगरपालिकासम्म फैलिएको त्रियुगा नदीको शिरदेखि तिरसम्म नियन्त्रणका लागि तटबन्ध निर्माणको काम ०७९ देखि सुरु गरिएको थियो । डिपिआरअनुसार नदीको दायाँ–बायाँ दुवै किनारमा कुल १०१ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्ने लक्ष्य राखिएको थियो । तर, पाँच वर्षको अवधिमा हालसम्म २८ किलोमिटर मात्र तटबन्ध निर्माण सम्पन्न भएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय विराटनगरका सबइन्जिनियर अर्जुन यादवका अनुसार नदीका दुवै किनारमा तटबन्ध निर्माण गरी बाढी तथा कटान नियन्त्रण गर्ने उद्देश्यसहित आठ अर्ब १५ करोड रुपैयाँ लागतको डिपिआर स्वीकृत गरिएको थियो । उनले भने, ‘हाल सोही डिपिआरअनुसार काम भइरहेको छ ।’ 
उनका अनुसार अहिले त्रियुगा नगरपालिका– १३, पोर्ताहा, त्रियुगा नगरपालिका– १२ को बोटेटोल, चौदण्डीगढी नगरपालिका– १० को शिवनगर क्षेत्र तथा चौदण्डीगढी नगरपालिका– ५ को सुन्दर क्षेत्रमा तटबन्ध निर्माण भइरहेको छ । ‘चालू आर्थिक वर्षमा चार करोड रुपैयाँ लागतमा करिब एक हजार ६ सय मिटर तटबन्ध निर्माणको काम भइरहेको छ,’ उनले थपे । 

कार्यालयका अनुसार १०१ किलोमिटर तटबन्ध निर्माण गर्नुपर्नेमा हालसम्म २८ किलोमिटर मात्र निर्माण भएको छ । जुन कुल लक्ष्यको करिब ३० प्रतिशत हो । कार्यालय प्रमुख तथा डिभिजन इन्जिनियर (डिई) राजेन्द्र देवका अनुसार आयोजना छिटो सम्पन्न हुन नसक्नुको मुख्य कारण संघीय सरकारले बर्सेनि पर्याप्त बजेट विनियोजन नगर्नु हो । उनले भने, ‘वर्षमा कम्तीमा ३० देखि ४० करोड रुपैयाँ बजेट विनियोजन भएको भए काम धेरै अघि बढिसक्थ्यो । तर, हालसम्म जम्मा दुई अर्ब १० करोड रुपैयाँ मात्र खर्च भएको छ । आठ अर्ब १५ करोड रुपैयाँको डिपिआर स्वीकृत छ । आयोजना समयमै सम्पन्न गर्न संघीय सरकारले आवश्यक बजेट सुनिश्चित गर्न जरुरी छ ।’ 

प्रमुख देवका अनुसार अझै करिब ७३ किलोमिटर तटबन्ध निर्माण गर्न बाँकी छ । पर्याप्त बजेटको अभावमा आयोजना लम्बिँदै गएको उनको भनाइ छ । ‘चालू आर्थिक वर्षमा चार करोड रुपैयाँ बजेट थियो । आगामी आर्थिक वर्षका लागि पनि चार करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । यस्तो अवस्थामा काम छिटो कसरी सकिन्छ ?’ उनले प्रश्न गरे ।

त्रियुगा किनारका १० हजारभन्दा बढी घरधुरी चिन्तित
त्रियुगा नदी उदयपुरको सबैभन्दा ठुलो प्राकृतिक विपत्को स्रोतका रूपमा चिनिन्छ । बर्सेनि आउने बाढी र कटानका कारण हजारौँ बिघा उर्वर खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ । नदी नियन्त्रणको काम सम्पन्न भए करिब १२ हजार हेक्टर खेतीयोग्य जमिन पुनः उपयोगमा आउने र १० हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा छ । डिई देवका अनुसार त्रियुगा नदीको जलाधार क्षेत्र करिब एक हजार तीन सय वर्गकिलोमिटर छ । 

चुरे र महाभारत पर्वत शृंखलाबाट उद्गम हुने यस नदीमा २५ वटा सहायक खोला तथा खहरे मिसिने भएकाले मुख्य नदी मात्र नभई ती सहायक जलप्रवाहहरूको किनार स्थिरीकरण पनि उत्तिकै आवश्यक छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय प्रमुख तथा डिभिजन इन्जिनियर (डिई) राजेन्द्र देवले भने, ‘त्यसैले स्वीकृत डिपिआरअनुसारका संरचना निर्माणका लागि पर्याप्त बजेट उपलब्ध गराउनु अपरिहार्य छ ।’ 

त्रियुगा नगरपालिका– १, जोगीदहका स्थानीय रुद्र अधिकारीका अनुसार त्रियुगा नदी नियन्त्रण केवल पूर्वाधार निर्माणको विषय मात्र नभई हजारौँ नागरिकको सुरक्षा, कृषि उत्पादन तथा स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय हो । उनले भने, ‘डिपिआरअनुसार समयमै काम नहुँदा वर्षौँदेखि बाढी र कटानको पीडा भोगिरहेका त्रियुगा नदी किनारका स्थानीयमा तटबन्ध निर्माण हुने आशा नै मर्न थालेको छ ।’

नदीको कटान र बाढीका कारण हजारौँ परिवार विस्थापित भइसकेका छन् । सयौँ किसान अहिले पनि वन क्षेत्र अतिक्रमण गरेर बस्न बाध्य छन् । वर्षौँदेखि समस्या दिँदै आएको नदी नियन्त्रणका लागि बनाइएको दीर्घकालीन योजना नै सुस्त गतिमा अघि बढेपछि स्थानीयको चिन्ता थपिएको छ । 
 

See More On

सुझावित समाचार