अछाममा विपत् प्रतिकार्य सिकाउँदै सेना, सचेत बन्दै स्थानीय

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

नेपाली सेनाले अछामको विनायकमा बाढी, पहिरो, डुबान, चट्याङ जस्ता मनसुनजन्य विपद् बारे नमुना अभ्यास गरेको छ । विपद्मा हुने क्षति घटाउने उद्देश्यले सरोकारवालाहरुको ध्यानाकर्षण गराउन र स्थानीयलाई सचेत पार्न यो अभ्यास गरिएको हो ।

नेपाली सेनाको गोरख बक्स गण मंगलसेन ब्यारेकबाट गणपति प्रमुख सेनानी राजु महर्जनको कमाण्डमा सहभागी ३५ जना बढी सेनाहरुले विनायक स्थित पञ्चदेवल विनायक नगरपालिका कार्यालयको प्राङ्गणमा ‘आशाको पहिलो किरण’ नामक नाटक मार्फत बाढी, पहिरो, डुबान, चट्याङ, आगलागीलगायत विपदबाट बचाउन ‘डेमो’ प्रदर्शन गरेका हुन् ।

गणपति महर्जनका अनुसार नमुना अभ्यासमार्फत मनसुनका बेला प्रभावित समुदायको तत्कालै खोज, उद्धार र व्यवस्थापन गर्न स्थानीय आफैले गर्नसक्ने प्रयासका बारेमा विभिन्न प्रस्तुति मार्फत जानकारी दिइएको छ ।

‘विपद्मा सेना, प्रहरी आइपुग्नु अघि नै स्थानीय आफैले धेरै कुरा जोगाउन सक्छन,’उनले भने,‘यही कुराको ज्ञान दिन यो अभ्यास गरिएको हो ।’ नमुना अभ्यास प्रदर्शनीमा सहभागी सेना, प्रहरी, रेडक्रसकर्मी लगायतलाई धन्यवाद दिदै पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले यो अभ्यासले धेरै ठुलो सिकाइ भएको बताइन् । उनले जनशक्ति र स्रोतसाधान भएर पनि प्रयोग गर्न नसकिएको भन्दै अब त्यसको व्यवस्थापनमा लाग्ने प्रतिवद्धता जनाइन् । ‘हामी सँग प्रयाप्त स्रोत सधान छन,’उनले भनिन्,‘तर त्यसको उचित प्रयोग भएको छैन ।

अब त्यसको सही व्यवस्थापन गर्छौ ।’ सेनाले अभ्यासका क्रममा हावाहुरी चट्याङ, बाढी, पहिरो र आगलागीको दृश्य देखाएर त्यहा फसेका तथा घाइते भएका ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका र पशुचौपायाहरुको उद्धार गर्न सुरुमा स्थानीय आफैले गर्नुपर्ने प्रयास र त्यसपछि जनप्रतिनिधि, पत्रकार, सेना, प्रहरी र रेडक्रकर्मीले खेल्नुपर्ने भूमिको झलक देखाएको थियो । करिब ४५ मिनेटको प्रदर्शनलाई स्थानीयहरुले ध्यानपुर्वक हेरेका थिए ।

कार्यक्रममा विपदका बेला आवश्यक पर्ने उद्वार सामग्री समेत प्रदर्शन गरिएको थियो । त्यस क्रममा नगर प्रमुख चलाउने सहित उपप्रमुख हर्कबहादुर रावल, वडाध्यक्षहरु कमल रावल, दुर्गाप्रसाद तिमिल्सिना लगायतले त्यसको अवलोकन गरेर आवश्यक सामग्री बारे जानकारी लिएका थिए ।

गतवर्ष जिल्लाका दशवटै स्थानीय तहमा विपद् बारे पूर्वाभ्यास गरेको सेनाले यस पटक पनि विभिन्न स्थानीय तहहरु सँगको समन्वयमा नियमित कार्यक्रम गर्दै आएको छ ।
 

सुझावित समाचार