क्रियाशील सदस्यता अद्यावधिक नगर्नेमाथि कांग्रेस संस्थापन कठोर

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण
  • विशेष महाधिवेशनअघिका कुनै पनि कमिटी मर्ज नगर्ने र सदस्यता अद्यावधिक नगर्नेलाई १५औँ महाधिवेशनमा सहभागी नगराउने

कांग्रेसले विशेष महाधिवेशनअघिका कुनै पनि कमिटी मर्ज नगर्ने र क्रियाशील सदस्यता अद्यावधिक नगर्ने नेता तथा कार्यकर्तालाई १५औँ महाधिवेशनमा सहभागी नगर्ने भएको छ । इतर पक्षका नेता तथा कार्यकर्ताले सदस्यता अद्यावधिक नगरेको सन्दर्भमा संस्थापन पक्षले कडा रणनीति लिएको हो ।

सभापति गगन थापाले अद्यावधिक नभएकालाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताए । ‘अद्यावधिक नभएको कोही पनि साथीलाई नेपाली कांग्रेसले सम्मान गर्छ, माया गर्छ, तर पार्टी सदस्यका रूपमा चिन्दैन । मैले व्यक्तिगत रूपमा चिन्छु, जय नेपाल भन्छु, तर अब सिस्टमले नै चिन्दैन, भोट हाल्ने वेला नाम वडामा आउँदैन,’ मंगलबार झापामा आयोजित कार्यक्रममा थापाले भने ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य एवं कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही सदस्यता अद्यावधिक नगरी महाधिवेशनमा सहभागी हुने कुरा कल्पना पनि गर्न नसकिने बताउँछन । नेता बन्न कार्यकर्ताबाट अनुमोदित भएर आउनुपर्ने पनि उनले बताए । ‘विशेष महाधिवेशनअघिका कुनै पनि संरचना मर्ज गरिँदैन, तर योग्यता, क्षमता र पार्टीमा आवश्यकताअनुसार नेताहरूलाई समेट्न सकिन्छ,’ उनले भने, ‘अद्यावधिक नगरी महाधिवेशनमा सहभागी हुने कुरा कल्पना नगरे हुन्छ । एकपटक नेता भएपछि जीवनभर पदीय जिम्मेवारीमा हुने अवस्था अब रहँदैन । अब त्यसका लागि कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ ।’

स्नेहीले इतर पक्षले बेतुकका कुरा गरिरहेको आरोपसमेत लगाए । ‘कांग्रेस बेतुकका कुरामा अलमलिँदैन । पार्टी कार्यालयको ढोका कता फर्काउने, सदस्यता अद्यावधिक गर्ने कि नगर्ने भन्ने कुरा बहसको विषय नै होइन,’ उनले भने । 

सदस्यता अद्यावधिक नगर्नेहरू अधिवेशन र महाधिवेशनमा भाग लिन नपाउने, तर रेकर्डमा भने रहने कांग्रेसले जनाएको छ ।

राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्ने इतर पक्षको तयारी
कानुनी रूपमा विशेष महाधिवेशन पक्षधरले मान्यता पाए पनि राजनीतिक रूपमा देउवा र कोइराला पक्ष अगाडि बढेको छ । इतर पक्षले लुम्बिनीबाहेक अन्य प्रदेशमा भेला गरिसकेको छ । लुम्बिनीमा १६ असारमा भेला आयोजना गरिएको छ । त्यसपछि राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्ने इतर पक्षको तयारी छ ।

एकताको वातावरण बनाउने र संस्थापन पक्षलाई दबाब दिने गरी अघि बढ्दा संस्थापन पक्ष पेलेरै अघि बढे बाध्यात्मक परिस्थितिमा चुप बस्ने अवस्था नरहने इतर पक्षका नेता मीन विश्वकर्मा बताउँछन् । ‘हामीले अहिलेसम्म गरेको अभ्यास एकताको वातावरण बनाउन र संस्थापन पक्षलाई दबाब दिन हो । बाध्यात्मक अवस्था बन्यो भने चुप लागेर बस्ने कुरा हुँदैन । शेखर कोइराला, पूर्णबहादुर खड्काले नयाँ पार्टी नबनाउनुहोला, तर सबै चुप लागेर बस्ने अवस्था हुँदैन । संस्थापन पक्षका साथीहरू भृकुटीमण्डपको धङधङीबाट बाहिर निस्कन सक्नुभएको छैन । हामी पार्टी फुटाउनुहुँदैन भनिरहेका छौँ । उहाँहरू फुटाएर जाऔँ भनिरहनुभएको छ,’ उनले भने । 

विश्वकर्माले १५औँ महाधिवेशनको मिति तय गर्दा सहमतिमा गर्ने, विशेष महाधिवेशनमा छुटेकालाई समेटेर केन्द्रीय कार्यसमिति पुनर्गठन गर्ने, आवश्यक समिति सहमतिमा बनाउने, १४औँ महाधिवेशनबाट आएका र १५औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यको स्वतः अद्यावधिक मानिने र अद्यावधिक कार्य जारी राख्ने गरी सहमतिमा पुग्न सकिने उनले सुझाए । आन्तरिक एकताका लागि आफूहरू गम्भीर बनेको पनि उनले बताए । तर, संस्थापन पक्ष गम्भीर नभएको उनको आरोप छ । 

गत २२ जेठमा उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच भएको भेटपछि संस्थापन र इतर पक्षबिच संवाद भएको छैन । कांग्रेसले आगामी १६, १७, १८ र १९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । महाधिवेशनका लागि करिब सात लाख क्रियाशील सदस्यताले सदस्यता अद्यावधिक गरिसकेका छन् । नयाँ सदस्यता तीन लाख वितरण गर्ने लक्ष्य कांग्रेसको छ । १० लाखको हाराहारीमा क्रियाशील सदस्य हुने स्नेही बताउँछन् । ‘करिब सात लाखले क्रियाशील सदस्यता अद्यावधिक गरिसकेका छन् । नयाँ सदस्यताको काम सुरु भएको छ । करिब तीन लाखले नयाँ सदस्यता लिने अपेक्षा गरिएको छ,’ उनले भने ।

सुझावित समाचार