राजधानीबाट सबैभन्दा नजिक रहेको उत्तरी नाका तातोपानीआसपास भएर विद्युतीय चुरोट (भेप), चिनियाँ रक्सी र अन्य अवैध सामग्री धमाधम तस्करी भइरहेको पाइएको छ। सीमा कटेर राजधानीतर्फ ल्याइँदै गरेको अवैध सामग्री सुरक्षा निकायद्वारा पटक–पटक बरामद गरेको घटनाले सो कुरा पुष्टि हुन्छ। अवैध भेपलगायत सामग्री नेपाल–चीन सीमा क्षेत्र लिपिङको मितेरीपुलबाट नभई अन्यत्रबाट तस्करी हुने गरेको सुरक्षा स्रोतले बताएको छ।
आर्थिक वर्ष ०८२/८३ मा सुरक्षा निकायहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाँच करोड ७२ लाख ३७ हजार मूल्यबराबरको अवैध सामग्री नियन्त्रणमा लिएर तातोपानी भन्सारलाई बुझाएको हो । बरामद सामग्रीउपर तातोपानी भन्सारले कारबाही चलाइरहेको छ।
विद्युतीय चुरोट (भेप) चिनियाँ क्षेत्रमा वैधानिक वस्तु हो । चीन सरकारले भेप उत्पादन गर्ने कम्पनीलाई प्रमाणपत्र दिने गर्छ । स्वास्थ्यमा हानि गर्ने भएकाले नेपालमा सरकारले भेपलाई अवैध सामग्री भनेको छ। भारतीय बजारमा चिनियाँ भेपको सेवनकर्ता अत्यधिक रहेकाले नेपालको बाटो भएर जाने गरेको हो। भेपलाई भारतमा पनि अवैध घोषणा गरिएको छ।
चीन स्वशासित क्षेत्र सिजाङ (तिब्बत)को खासा बजार आइपुगेका भेप र रक्सीका बाकसलाई चिनियाँ व्यापारीले नेपाली व्यापारीलाई रमितेको लाप्टाङ क्षेत्रमा जिम्मा लगाउँछन्। त्यसपछि नेपाली तस्करहरू बोक्चेनको बाटो भएर कोदारी राजमार्गको दशकिलो, हिन्दी, नयाँपुल र बाह्रबिसे निस्कन्छन्।
सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण हेडक्वार्टर सिन्धुपाल्चोक वनदेउका सूचना अधिकृत डिएसपी नवराज नेपाल भन्छन्, ‘तस्करहरूले जंगल, खोला र गोरेटो बाटो प्रयोग गरेर अवैध सामग्री ओसारपसार गर्छन्।’ बाह्रबिसेदेखि नेपाल–चीन सीमा लिपिङसम्म दुई ठाउँमा नेपाल प्रहरी र दुई ठाउँमा सशस्त्र प्रहरीको चेकपोस्ट छन्।
चेकपोस्टमा कडा निगरानी राखेर हरेक सवारीसाधनलाई चेकजाँच गर्ने गरेको डिएसपी नेपालले बताए। सशस्त्र प्रहरीले हालसम्म भेप बरामद गरेको छैन। सशस्त्रले क्वारेन्टाइन पास नगरी भन्सार छलेर ल्याइएका खाद्य सामग्री मात्रै बरामद गरेको छ । नेपाल प्रहरीले दुईपटक भेप बरामद गरेको छ।
कोदारी प्रहरीले १६ सय ४१ थान र बाह्रबिसे इलाका प्रहरीले सात हजार सात सय थान भेप बरामद गरेको छ । बरामद भेपको बजार मूल्य तीन करोड २६ लाख ८४ हजारबराबर पर्छ। त्यसैगरी प्रहरीले १८ हजार नौ सय १७ बोतल चिनियाँ रक्सी बरामद गरेर भन्सारलाई जिम्मा लगाएको छ। १९ लाख मूल्यबराबरको रक्सी बरामद भएको हो। बरामद गरेर ल्याइएका एक करोड ४७ लाख ६२ हजार मूल्यबराबरको प्याकिङ खाद्यपदार्थ पनि भन्सारमा जम्मा भएको छ।
सुरक्षा निकायले नियन्त्रणमा लिएर बुझाएको भेप र रक्सी भन्सारमा सुरक्षित गरेर राखिएको तातोपानी भन्सारका अधिकृत रमेशबहादुर शाहले जानकारी दिए । ‘अवैध सामग्री लिलामी गर्ने नीति नभएकाले यसउपर कारबाही गरिएको छैन । सरकारको माथिल्लो निकायले जे आदेश दिन्छ हामीले त्यही गर्ने हो,’ शाहले भने, ‘भेप र रक्सीलाई भन्सारको एउटा कोठामा सुरक्षित तवरले राखेका छौँ ।’ यद्यपि, भन्सार छलेर र क्वारेन्टाइन अनुमति नभएका बरामद सामग्रीको लिलामी गरिएको छ । लिलामी गरेर तातोपानी भन्सारले २६ लाख ८७ हजार चार सय ८२ रुपैयाँ राजस्व संकलनसमेत गरेको छ ।
ठुलो परिमाणमा रहेको प्याकिङ खाद्यसामग्री धमाधम लिलामी भइरहेको छ । भन्सार छलेर लगिएको सामग्रीउपर १०६ मुद्दा परेको र त्यसमा ७० मुद्दाको फर्स्याेट पनि भइसकेको शाहले बताए । भेप र रक्सी तस्करी गर्ने व्यापारीलाई प्रहरीले समातेको छैन । सवारीचालक र भरियालाई मात्रै समातेर छोड्ने गरिएको छ ।
सीमाक्षेत्र लिपिङपारि चिनियाँ पसलबाट झोलेपोके व्यापारीले खरिद गरेर ल्याइएका प्याकिङ खाद्यसामग्री प्रहरीको निशानामा पर्ने गरेका छन् । सरकारले प्रतिव्यक्ति पाँच सय रुपैयाँसम्म सामग्री ल्याउन पाउने नियम लागू गरेको छ । तर, स्थानीय झोलेपोके व्यापारीले दिनदिनै जम्मा पारेर साना बोलेरो गाडीमा धेरै सामान ल्याउने गरेकोले प्रहरीले नियन्त्रणमा लिने गरेका छन् । सीमामा रहेको प्लान्ट र खाद्य क्वारेन्टाइनले झोलेपोके व्यापारीलाई खाद्यसामग्री आयात गर्न कुनै पनि अनुमति वा प्रमाणपत्र दिँदैन ।