अर्थमन्त्री स्वर्णिम वाग्लेले जनमतप्राप्त सरकारले करबाट संकलित रकमलाई आवश्यकता र प्राथमिकताका आधारमा विवेकपूर्ण ढंगले उपयोग गर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले कर संकलन र खर्च व्यवस्थापन सम्बन्धमा सरकारको नीति स्पष्ट पारे। उनले विभिन्न स्रोतबाट संकलित कर एउटै सञ्चित कोषमा जम्मा हुने र त्यसको उपयोग राज्यका आवश्यकताअनुसार गरिने बताए।
उनका अनुसार करलाई निश्चित उद्देश्यका लागि मात्र प्रयोग हुने गरी ‘इयरमार्किङ’ गर्न सकिए पनि त्यसबाट प्रशासनिक तथा कानुनी जटिलता उत्पन्न हुन सक्छ। त्यसैले सरकारले समग्र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर करको उपयोग गर्ने नीति अवलम्बन गरेको छ।
अर्थमन्त्री वाग्लेले पूर्वाधारका लागि उठाइएको करको रकम अन्य आवश्यक क्षेत्रमा पनि प्रयोग हुन सक्ने उदाहरण दिँदै बुढीगण्डकी आयोजनाको क्षतिपूर्तिका लागि ४३ अर्ब रुपैयाँ वितरण गरिएको प्रसंग उल्लेख गरे। उनले प्रदूषणका नाममा उठाइने कर पनि वातावरण, स्वास्थ्य तथा सम्बन्धित निकायहरूको बजेट विनियोजनमार्फत प्रतिबिम्बित हुने बताए।
संसद्ले आवश्यक निर्देशन दिएमा विशेष प्रकृतिका बजेट कार्यक्रमहरू पनि व्यवस्था गर्न सकिने उल्लेख गर्दै उनले त्यस्तो निर्णय गर्ने अधिकार सार्वभौम संसदमा रहेको बताए। अर्थमन्त्री वाग्लेले प्रशासनिक र कानुनी जटिलता न्यून हुने गरी करको प्रभावकारी तथा जिम्मेवार उपयोगमा सरकार प्रतिबद्ध रहेकोसमेत बताए।