त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक र कर्मचारीलाई अन्तिम ‘अल्टिमेटम’ दिएको छ । त्रिविले बुधबार सूचना जारी गर्दै अध्ययन बिदामा बसेकालाई सम्पर्कमा आउन अन्तिम मौका दिएको हो । तोकिएको अवधिभित्र त्रिविमा हाजिर नभए वा सम्पर्कमा नआए त्रिविसँग गरिएको कबुलियतनामा र नियमानुसार कानुनी कारबाही गरिनेछ ।
‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र समितिको कार्यालयमा वा इमेलमार्फत सम्पर्क राख्नुहुन पुनः जानकारी गरिन्छ,’ त्रिविको सूचनामा छ, ‘अन्यथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’ शिक्षामन्त्री सस्मित पोखरेलले बिदामा बसेका शिक्षक र कर्मचारीलाई समयमै सम्पर्कमा आउन निर्देशन दिँदै आएका छन् । अध्ययन बिदामा बसेका प्राध्यापकहरूले रकम फिर्ता नगरेपछि त्रिविले शिक्षक–कर्मचारीको खोजबिन गर्न डा. जीवन काफ्लेको नेतृत्वमा चार सदस्यीय समिति बनाएको थियो । समितिले अध्ययन गर्दा ३९८ जना प्राध्यापक अध्ययन बिदामा बसेका, तर नफर्किएको फेला परेको थियो । अध्ययनपछि थप दक्षता बोकेर त्रिविमा फर्किने वाचासहित बिदामा बसेका प्राध्यापक नफर्किएपछि त्रिविले आर्थिक रूपमा ठुलो घाटा व्यहोर्नुपरेको छ ।
त्रिविबाट अध्ययन बिदा लिएका केही प्राध्यापकले मात्रै रकम फिर्ता गरेका छन् । जसमध्ये ५० जना प्राध्यापकले तलब र भत्ताबापत लिएको ११ करोड ८० रुपैयाँ फिर्ता गरेका हुन् । अन्य ७२ जना प्राध्यापक सम्पर्कमा आएका छन् ।
त्रिविले एक वर्षदेखि रकम फिर्ता गर्न दबाब दिँदै आइरहेको छ । त्रिविबाट पढ्न गएकामध्ये अधिकांश विदेश पलायन नै भएपछि त्रिविले विभिन्न माध्यमबाट सम्पर्क गरी रकम फिर्ता गर्न ताकेता थालेको थियो । त्रिविका अनुसार अध्ययन बिदामा गएका प्राध्यापक नफर्किंदा दुई अर्ब रुपैयाँभन्दा बढी घाटा भएको छ ।
त्रिवि सेवाको नियमअनुसार विश्वविद्यालयका शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउँछन् । उनीहरूको नियमित रूपमा तलब र भक्तसमेत जोडेर खातामा पठाउने गरिएको थियो । तर, पाँच वर्षसम्म बिदामा बसेपछि अधिकांश प्राध्यापक फर्किएनन् । एकातर्फबाट पढेपछि नफर्किने र अर्कातर्फ त्रिविले बिदा अवधिभरसमेत दिएको तलब लिएर गायब भएपछि आर्थिक र दक्ष जनशक्तिको हिसाबले ठुलो नोक्सानी भएको हो । विगतमा अध्ययन बिदामा दुरुपयोग बढेपछि अब भने त्रिविले अध्ययन बिदासम्बन्धी नियमलाई थप कडाइ गर्ने तयारी गरेको छ । समितिका संयोजक डा. काफ्लेले ७२ जना प्राध्यापक सम्पर्कमा आएको र ५० जनाले रकम फिर्ता गरेको बताए । ‘अन्य प्राध्यापकहरू पनि सम्पर्कमा आउँदै हुनुहुन्छ, नआएकालाई फेरि पनि समय दिएका छौँ, उहाँहरू जहाँ भए पनि हामीसँग सम्पर्क गरेर आफ्नो दायित्वबोध गर्नुहुनेछ,’ उनले भने, ‘त्रिविले तलब–भत्तासहित अध्ययन बिदा दिएर पठाएकाहरू नफर्किंदा त्रिविलाई ठुलो घाटा त भएकै छ ।’