परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन् । बेइजिङबाट हङकङ हुँदै काठमाडौं आइपुगेका उनले भ्रमणलाई उपलब्धिमूलक तथा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण भएको बताएका छन् । परराष्ट्रमन्त्री खनाल आइतबार बेइजिङ पुगेका थिए ।
‘आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबीच स्पष्ट मतैक्य थियो,’ बेइजिङबाट फर्केपछि मन्त्री खनालले भने । उनले नेपाल सरकारको ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता पुनः दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने अडान स्पष्ट रूपमा राखिएको बताए ।
भ्रमणका क्रममा उनले सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए । वार्तामा नेपाल–चीन सम्बन्धका सुरक्षा, सीमा, आर्थिक विकास, साझेदारी लगायत सबै बिषयमा छलफल भएको थियो। वार्तामा पूर्वाधार विकास, कनेक्टिभिटी, ऊर्जा, व्यापार, लगानी, कृषि, सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सहमति भएको छ ।
चिनियाँ पक्षले पनि नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति आफ्नो समर्थन दोहोर्याएको उनले बताएका छन् । ‘नेपालले निर्धारण गरेका सुशासन र आर्थिक विकासका प्राथमिकतामा चीनको पूर्ण समर्थन रहने विश्वास व्यक्त भएकोछ’ परराष्ट्रमन्त्री खनालले भने ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले सोमवारै चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङसँग चिनियाँ कम्युनिष्ट पार्टी कार्यालयमा तथा चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग मंगलवार ग्रेट हल अफ द पिपुलमा भेटवार्ता गरेका थिए । लिउसँगको भेटमा दुई देशका राजनीतिक दलहरूबीच सम्पर्क र सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल भएको उनले बताएका छन् । वाङसँगको भेटमा आगामी दिनमा प्राथमिकताका क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा विचार विमर्श भएको उनले जानकारी दिएका छन् । मंगलवार बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए ।