श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्रीले आफ्नो कर्तव्यबोध गर्दै जनताका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
साम्पाङले सरकारको निर्देशनमा राखिएका सुकुमवासी होल्डिङ सेन्टरहरूमा पानी र खानाको अभावका कारण प्रभावितहरू आन्दोलन गर्न बाध्य भएको दृश्य आफूले देखेको उल्लेख गर्दै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
उनले चालू बजेटमा सहर व्यवस्थापनका लागि बजेट विनियोजन भएको स्मरण गराउँदै सुकुमवासी तथा प्रभावित नागरिकहरूको पुनर्वासलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। उनका अनुसार पुनर्वास कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भए सरकारको सकारात्मक छवि निर्माण हुने उल्लेख गरे ।
साम्पाङले सरकारलाई तत्काल आवश्यक कदम चालेर प्रभावित नागरिकहरूको समस्या समाधान गर्न आग्रह गरेका छन्।