सुदूरपश्चिममा कांग्रेस–एमालेको भागबन्डा विवादले मन्त्रिपरिषद् बैठक बस्न सकेन, बजेट प्रस्तुत गर्ने समय अनिश्चित

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशमा बजेट भागबन्डाको विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबिचको विवाद चर्किएको छ। बजेट प्रस्तुत गर्न अहिले बेलुकी ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो। तर, दुई दलबिचको विवादका कारण बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक नै बस्न सकेको छैन।

प्रदेश सभा बैठकमा भाग लिन प्रतिपक्षी सांसदहरू प्रदेश सभापरिसरमा पुगेका छन्। ‘५ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यतालिका थियो, तर बैठक बस्न सकेको छैन। एक-दुईजना बाहेक सत्तापक्षका सांसद र मन्त्रीहरु आएका छैनन्,’ प्रमुख प्रतिपक्षी दल नेकपाका सांसद ओमबिक्रम भाटले भने, ‘बजेटका विषयमा सत्तापक्षमै विवाद हुँदा अहिलेसम्म मन्त्रिपरिषद् बैठक नै बस्न नसकेको थाहा भएको छ।’ उनले बजेट कति वेला प्रस्तुत हुने भन्ने अन्योल रहेको बताए।

बजेट भागन्डाको विषयमा विवाद भएपछि मुख्यमन्त्री कमलबहादुर शाहमाथि दबाब बढाउन एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसहित एमालेका मन्त्रीहरूले आइतबारको प्रदेश सभा बैठक बहिष्कार गरेका थिए। एमालेका केही सांसद भने सहभागी भएको उक्त बैठकमा आर्थिक मामिलामन्त्री बिक्रमसिंह धामीले प्रदेशको आर्थिक सर्भेक्षण प्रस्तुत गरेका थिए।

स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट सिलिङ बढाउने विषयमा दुई दलबिच विवाद भएको हो। एमालेले नेतृत्व गरेको यो मन्त्रालयले सुरुमा सात अर्ब ५३ करोड ९१ लाखको सिलिङ पाएको थियो। भौतिकमा पाँच अर्ब बढाउनुपर्ने माग एमालेले गरेको बताइएको छ। ‘भौतिकको सिलिङ बढाएर १२ अर्बहाराहारी पुगेको छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘अन्तिममा सिलिङ बढाउन नसकिने अडानमा मुख्यमन्त्री हुनुहुन्छ।’

एमालेले यसमा कम्तीमा दुई अर्ब थप गर्नुपर्ने माग गरिरहेको स्रोतले बतायो। अर्थ विविध शीर्षकमा राखिने बजेटबाट पछि केही मिलाउने गरी मुख्यमन्त्रीले सहमतिको प्रयास गरिरहेका बताइएको छ।

प्रदेश सरकारले हालसम्मकै ठुलो साढे ३८ अर्बहाराहारीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षमा प्रदेशको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ थियो। चालू आर्थिक वर्षको बजेट खर्च न्यून रहेकाले यस वर्षको बचतलाई हेरेर बजेटको आकार बढाएको आर्थिक मामिला मन्त्रालयका एक अधिकारीले बताए।

सुझावित समाचार