सम्पत्ति शुद्धीकरण अभियोगमा लागेको मुद्दाको बिगो सबैभन्दा ठुलो आकारको छ । जसमा बिचौलिया दीपक भट्टसँग मात्रै २६ अर्ब ६३ करोड बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण विभागले तयार गरेर सरकारी वकिलमार्फत विशेष अदालतमा दायर मुद्दाको अभियोगपत्र ४३६ पेज लामो छ ।
सम्पत्ति शुद्धीकरण कसुरको केन्द्रमा पनि भट्ट र शंकर ग्रुप छन् । भट्टसँग अग्रवाल दाजुभाइ साहिल र शुलभसमेत जोडिएर संगठित वित्तीय अपराध गरेको अभियोगपत्रमा उल्लेख छ । उनीहरूको सम्पत्ति शुद्धीकरणको शृंखलाबद्ध गतिविधि ०७९ देखि सुरु भएको थियो । त्यसयता करिब दुई वर्षमै अर्बौँको वित्तीय घोषणा भएको देखिन्छ ।
विभागले सम्बद्ध कसुरका फरक–फरक गतिविधिमार्फत आर्जित सम्पत्ति र त्यसको शुद्धीकरणको शृंखला केलाएको छ । बैंकिङ कसुरबाट प्राप्त ४२ करोड १४ लाख लगेर दीपक भट्ट अध्यक्ष रहेको इन्फिनिटी होल्डिङको सेयर चुक्ता पुँजी बढाई सो रकमबाट हिमालयन रिइन्स्युरेन्सको ४५ करोडको संस्थापक सेयर खरिद गरेको भेटिन्छ ।
त्यस्तै, ग्रिन डेभलपर्स प्रालिको सेयर खरिद–बिक्रीको आवरणमा गार्डेन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सको २४ करोड ८९ लाख ९४ हजार संस्थापक सेयर खरिद गरेका थिए । इन्फिनिटी होल्डिङको सिद्धार्थ बैंकमा रहेको खातालाई सम्पत्ति शुद्धीकरणको माध्यम बनाएको भेटिएको छ । त्यहाँ रहेको १९ करोड ९६ लाख सम्पत्ति शुद्धीकरणमा प्रयोग गरेको पाइएको छ ।
सिद्धार्थ बैंकमा दीपक भट्टको खातामा रहेको नौ करोड ११ लाख पनि सम्पत्ति शुद्धीकरणमा प्रयोग भएको थियो । भट्टसहितका प्रतिवादीले बिमाको दुई अर्ब ८९ करोड दुरुपयोग गरेर आफ्नो नाममा सेयर खरिद गरेको भेटिएको छ ।
हिमालयन क्यापसर्भ लिमिटेडको ३७ करोड, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको दुई अर्ब ७३ करोड, हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको २२ करोड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १६ करोड, एचएलआई लार्जक्याप फन्डको २५ करोडसहित कुल तीन अर्ब ७३ करोड रकम जम्मा गरेर तिनै कम्पनीको नाममा सेयर किन्न भनेर भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिको खातामा ल्याइएको थियो । ती पाँचै कम्पनीमा दीपक भट्ट र सुलभ अग्रवालको प्रभुत्व थियो । दोस्रो बजारमा सेयर खरिद गर्ने भनेर भृकुटीको खातामा ल्याइएको रकम दुरुपयोग गरिएको थियो । उक्त रकममध्ये दुई अर्ब ८९ करोड दीपक भट्टले सेयर खरिद गरी दुरुपयोग गरे भने सुलभकी श्रीमती सुभी अग्रवालले ६२ करोड र ऋषिराज मोरले २३ करोड रकम लगेर दुरुपयोग गरेका थिए ।
नेपाल रिइन्स्योरेन्सको पैसा दुरुपयोगका लागि शृंखलाबद्ध बदमासी गरेका थिए । प्रतिकित्ता ७०० को सेयरलाई १८०० पुर्याएर अकुत लाभ लिएको अनुसन्धानमा खुलेको छ । उनीहरूको गतिविधिका कारण दोस्रो बजारमा आमलगानीकर्ताले १० दिनमा मात्र एक अर्ब २९ करोड गुमाउनुपरेको थियो । यो वित्तीय अपराधमा नियामक निकायको समेत गम्भीर बदमासी र गैरकानुनी कार्य देखिएको अभियोगपत्रमा उल्लेख छ ।