श्रम संस्कृति पार्टीका सांसद हर्क राईले बजेट निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै बजेटमाथिको छलफल भइरहेको वेला ‘रेडबुक’ भने पहिल्यै तयार भइसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बजेटबारे पहिले व्यापक छलफल गरेर त्यसपछि अन्तिम दस्ताबेज आउनुपर्ने सुझाव दिए। अर्थमन्त्रीले ‘पाँच वर्षपछि तपाईंहरूकाे इच्छाअनुसार बजेट बनाउनुस्’ भन्ने अभिव्यक्तिप्रति आफूलाई आंशिक सहमति र आंशिक आपत्ति रहेको पनि बताए।
राईले बजेटलाई सरल भाषामा राज्यको आर्थिक योजना भएको उल्लेख गर्दै ‘यति पैसा उठाउँछु र यो–यो काम गर्छु भन्ने योजना नै बजेट हो’ भने। तर, कति पैसा उठाउने र कसरी उठाउने भन्ने विषयमा पर्याप्त ध्यान नदिइएको उनको टिप्पणी थियो।
उनले नेपालमा पेट्रोलियम पदार्थको मूल्य विश्वकै महँगोमध्ये रहेको दाबी गर्दै दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले जनतालाई थप मारमा पारेको बताए। मूल्य बढाएर मात्र राम्रो बजेट बन्न नसक्ने उनको भनाइ थियो।
‘बजेट भन्नासाथ देशका समस्या के हुन् र विकास के हो भन्ने बुझ्नुपर्छ,’ उनले भने। समस्या र विकासलाई उदाहरणमार्फत स्पष्ट पार्दै उनले ‘समस्या खुट्टामा भएको घाउ हो भने विकास नयाँ जुत्ता हो’ भने।
उनले बजेटको मुख्य उद्देश्य नयाँ योजना थप्नेभन्दा पनि जनताका वास्तविक समस्या समाधान गर्ने हुनुपर्नेमा जोड दिए। ‘हाम्रो बजेट समस्या समाधानकेन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर केन्द्रित हुनुपर्छ ? बजेट समस्या समाधानका लागि हो,’ उनले भने।
राई देशमा अनेकौँ समस्या भए पनि तीमध्ये कुन समस्या सबैभन्दा प्राथमिकतामा राखेर समाधान गर्नुपर्ने हो भन्ने विषयमा बजेटले स्पष्ट प्राथमिकता निर्धारण गर्न आवश्यक रहेकाे बताए ।