पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्पत्ति सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले गुरुङले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुने पर्याप्त आधार र प्रमाण फेला नपरेको निष्कर्ष निकालेको छ।
समितिले आफ्नो प्रतिवेदनमा गुरुङले पेस गरेको सम्पत्ति विवरण, विभिन्न सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, स्थानीय तह र अन्य सरोकारवाला निकायबाट प्राप्त कागजात तथा तथ्यांकको अध्ययन–विश्लेषण गरेको जनाएको छ।
प्रतिवेदनअनुसार गुरुङले आर्जन गरेको आयका आधारमा विभिन्न कम्पनीमा लगानी तथा सेयर खरिद गरेको देखिए पनि प्राप्त सूचना, प्रमाण र विवरणको समग्र विश्लेषण गर्दा गैरकानुनी सम्पत्ति आर्जन भएको पुष्टि हुने अवस्था नदेखिएको समितिले जनाएको छ।
समितिले गृहमन्त्री नियुक्त हुँदा सार्वजनिक गरिएको सम्पत्ति विवरण र त्यसपछिको अवधिमा भएका सम्पत्तिसम्बन्धी विवरणको समेत तुलना गरेको थियो। सो क्रममा सार्वजनिक वृत्तमा गुरुङको सम्बन्धमा उठाइएका आरोप तथा प्रश्नहरू सत्यतथ्यमा आधारित रहेको पुष्टि गर्न पर्याप्त प्रमाण प्राप्त नभएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ।
छानबिनका क्रममा प्राप्त सूचना, तथ्यांक, विज्ञहरूको राय, सरोकारवाला पक्षसँगको छलफल तथा लिखित बयानका आधारमा समितिले सम्बन्धित निकायलाई आवश्यक सुझावसमेत सिफारिस गरेको जनाएको छ।


