फिफा विश्वकप २०२६ हेर्न मेक्सिको जान लागेका पंकजविक्रम नेम्वाङ र किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागले फर्काएको छ। अध्यागमन विभागका सूचना अधिकारी अनुज भण्डारीले एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई अध्यागमनबाट फर्काइएको जानकारी दिए ।
यसअघि निर्वाचनसम्बन्धी विवादपछि गत चैतमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको थियो। सोही क्रममा एन्फाको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाउँदै अध्यागमन विभागको कालोसूचीमा राखिएको थियो।
राखेपले एन्फामाथिको निलम्बन फुकुवा गरिसकेको भए पनि सम्बन्धित पदाधिकारीहरूको नाम अध्यागमनको कालोसूचीबाट नहटाइएकाले नेम्वाङ र राईलाई विदेश जान अनुमति नदिइएको जनाइएको छ। यसअघि पनि अध्यागमनसम्बन्धी यही समस्याका कारण उनीहरू गत महिना टोरन्टो, क्यानडामा आयोजित फिफा कंग्रेसमा सहभागी हुन सकेका थिएनन्।
यस वर्षको फिफा विश्वकप २०२६ जुन ११ (जेठ २८) देखि सुरु हुँदै छ। प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दै छन्। उनीहरू मंगलबार बिहान त्यसतर्फ प्रस्थान गर्दै थिए ।