वीरगन्जका मेयर राजेशमान सिंहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

नगरप्रमुख सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– १० की रिता भट्टराईकी छोरी रुविना भट्टराईलाई रुविना श्रेष्ठ बनाएर नागरिकता दिलाएको बताइएको छ।

०७१ कात्तिक २० गते वीरगन्ज– ३ को कार्यालयमा रुविना श्रेष्ठको झुटो विवरण राखी जन्मदर्ता प्रमाणपत्र बनाइएको र सोही जन्मदर्ता प्रमाणपत्रका आधारमा वडाबाट सिफारिस गराई जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७५ साउन १३ गते नागरिकता जारी गरिएको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले नगरप्रमुख सिंह र बालिकाकी आमा रिता भट्टराईलाई यो अवैध काम गराउन मुख्य सहयोगी (मतियार) बनेको अभियोग लगाएको छ। त्यसैगरी, तत्कालीन वडासचिव भिखारी राय र तत्कालीन वडासदस्य एवं कार्यवाहक वडाध्यक्ष तैफुल अख्तर ठकुराईमाथि जानी–जानी गलत सरकारी कागजात (जन्मदर्ता र नागरिकता सिफारिस) तयार पारेको अभियोग छ।

गलत विवरणका आधारमा नागरिकता जारी गर्ने प्रक्रियामा संलग्न रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी कायम गरिएको छ।

गृह मन्त्रालयका (छानबिन समितिका संयोजक र सदस्य) तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि मुद्दा दायर गरिएकाे छ। उनीहरूले गैरकानुनी तवरबाट नागरिकता दिलाएको सम्बन्धमा गृह मन्त्रालयबाट गठित छानबिन समितिमा रही गलत व्यहोराको प्रतिवेदन तयार गरेको उल्लेख छ।

भ्रष्टाचार मुद्दा दायर भएपछि जनप्रतिनिधि स्वतः निलम्बनमा पर्ने कानुनी प्रावधान छ। 

सुझावित समाचार