पहिलोपटक एकसाथ प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका सभाध्यक्ष कञ्चनपुर आइपुगेका छन् । शुक्रबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डिपी) र राष्ट्रिय सभाका सभाध्यक्ष नारायण दाहाल कञ्चनपुर आइपुगेका हुन् ।
उनीहरूसँगै उपसभामुख रुबी रौनियार, उपाध्यक्ष लीला भण्डारी पनि सहभागी छन् । उनीहरूले जिल्लाको उत्तरी चुरेफेदमा रहेको भम्केनीधामको स्थलगत अनुगमन गरेका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम धामी, प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महताले भम्केनीधाममा बन्न लागेको नेपाल आमाको मूर्तिबारे जानकारी गराएका थिए ।
यस्तै, सोही टोली दोधारा–चाँदनी सुक्खा बन्दरगाह, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहितका क्षेत्रको अवलोकन गरेर टीकापुर जाने जनाइएको छ । शनिबारदेखि टीकापुरमा हुन लागेको अन्तरव्यवस्थापिका सम्मेलनका लागि उनीहरू त्यहाँ पुगेका हुन् ।