एसइईमा बरामद एक करोडभन्दा बढीका ४९६ मोबाइल नष्ट

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

सिराहामा प्रहरीले एसइई परीक्षामा चिट चोर्न प्रयोग गरेको मोबाइल नष्ट गरेको छ। गत चैतमा सम्पन्न भएको एसइई परीक्षामा चिट चोर्न प्रयोग गरिएको सातवटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीको  एन्ड्रोइड र पाँचवटा स्मार्ट वाच बरामद गरिएको थियो ।

मधेश प्रदेशकी तात्कालिक शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भए नष्ट गर्ने बताएकी थिइन्। त्यसकै आधारमा जिल्ला परीक्षा समन्वय समिति सिराहाले उपसमिति गठन गरी बरामद गरिएका मोबाइल नष्ट गर्न निर्देशन दिएको थियो। शिक्षा विकास तथा समन्वय समितिका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीसहितको पाँच सदस्यीय समिति बनाइएको थियो।

सो समितिले जिल्ला प्रहरी कार्यालयमा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका मोबाइल पानीमा राखेर नष्ट गरेको उपसमिति संयोजक राजदेव यादवले बताए। २४ घण्टा पानीमा मोबाइलहरू राखिएको र २४ घण्टापछि फुटाउने निर्णय भएको उनले बताए । 

मधेश प्रदेशमा पहिलोपटक ठुलो परिमाणमा विद्यार्थीसँग बरामद गरिएका मोबाइल नष्ट गरिएको हो। सो मोबाइलको बजार मूल्य एक करोडभन्दा बढी रहेको छ। विद्यार्थीको मोबाइल नष्ट गर्नुभन्दा जरिवाना लिएर एकपटकलाई फिर्ता दिन जिल्ला प्रशासन कार्यालयसँग कतिपयले आग्रह गरेका थिए।
 

सुझावित समाचार