नेकपाको संगठन समायोजनमा ढिलाइ, कामविहीन भए नेता–कार्यकर्ता

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

साबिक माओवादी, एकीकृत समाजवादीसहित विभिन्न २७ पार्टी–समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संगठन समायोजनमा अस्वाभाविक ढिलाइ भएको छ । गत १९ कात्तिकमा १० घटक मिलेर नेकपा बनेको थियो । त्यसपछि विभिन्न समूह थपिँदै २७ पुगेको छ । तर, संगठनात्मक समायोजन नहुँदा नेता तथा कार्यकर्ता कामविहीन भएका छन् ।

कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने र सडकदेखि संसद्सम्म प्रभावशाली उपस्थिति जनाउने प्रतिबद्धतासहित पार्टी एकता भएको थियो । पार्टीको तल्ला कमिटी र जनसंगठनको संगठनात्मक समायोजन नहुँदा अन्योल बढेको नेताहरू नै बताउँछन् । ‘सात दिनमा सकिने समायोजनको काम सात महिना बित्दा पनि पूरा हुन सकेको छैन । यसको असर संगठन निर्माणमा परेको छ,’ एक नेताले गुनासो गरे, ‘अहिले नेता तथा कार्यकर्ता न संगठन निर्माणमा लागेका छन्, न त आन्दोलनमा परिचालित नै भएका छन् ।’ 

एकता भएका विभिन्न दल र समूहले शक्तिसन्तुलन खोजेका कारण पनि सामायोजनमा समय लागेको एक नेताले बताए । एकीकरणमा सहभागी २७ वटा पार्टी र समूहको संगठनात्मक आकार र प्रभाव समान छैन । साबिक माओवादी र एकीकृत समाजवादीको संगठनात्मक प्रभाव तलसम्म छ । जनसंगठन पनि छन्, तर सबैको अवस्था यस्तो छैन । 

प्रचार विभाग उपप्रमुख अशेष घिमिरे समायोजनको अन्तिम गृहकार्यमा रहेको बताउँछन् । उनका अनुसार विभिन्न जनसंगठन र विभागसँग परामर्श भइरहेको छ र जेठभित्रै समायोजन टुंग्याउने तयारी छ । ‘जिम्मेवारीविहीनताको अवस्था लामो समय नरहने गरी गृहकार्य भइरहेको छ । जेठभित्र सक्ने तयारी छ । कामको जिम्मा नपाएर अन्योल सिर्जना हुन नदिने गरी समायोजन प्रक्रिया टुंगिन्छ,’ उनले भने । 

नेकपाले आगामी मंसिर दोस्रो साता एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, करिब चार दर्जन पार्टी/समूहको संगठन समायोजन अझै हुन सकेको छैन । समायोजनको काम कार्यतालिकाअनुसार अघि बढ्ने नेकपाले जनाएको छ । सबै जिल्ला र पालिकामा कमिटीका साथै जनसंगठनहरूमा पनि समायोजन गर्नुपर्नेछ । मुख्यतः साबिक माओवादीबाट इन्चार्ज भए साबिक समाजवादीबाट संयोजक बनाउने गरी गृहकार्य भइरहेको छ । साबिक समाजवादीबाट इन्चार्ज बने साबिक माओवादीबाट संयोजक बन्नेछन् ।

पार्टी तथा जनवर्गीय, मोर्चा संगठनहरूको एकीकरण तथा समायोजनअन्तर्गत केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मको संगठनात्मक समायोजन प्रक्रिया आगामी जेठ मसान्तसम्ममा सम्पन्न गर्ने नेकपाको तालिका छ ।

अखिल नेपाल महिला संगठन मात्र समायोजन भएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संघ (समाजवादी)लगायत संगठनको एकतापछि अखिल नेपाल महिला संगठन बनेको हो । महिला संगठनको संयोजकमा दामा शर्मा तथा सहसंयोजकमा मुनु सिग्देल, कमला विक र सावित्री पोखरेल चयन भएका छन् । संगठनको केन्द्रीय समितिमा ५८५ सदस्यीय बनेको छ । 

आगामी असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गर्ने नेकपाको तयारी छ । १५ भदौसम्म वडा तह, १६ भदौदेखि भदौ मसान्तसम्म पालिका तहका र असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ । १५ कात्तिकसम्म प्रदेश अधिवेशन र ११–१५ मंसिरमा एकता राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय नेकपाको छ । पार्टीका सबै तहका अधिवेशन तथा महाधिवेशनसम्बन्धी दस्ताबेज, प्रतिवेदन तथा कार्यविधिको तयारी केन्द्रीय समिति बैठकले गर्ने तयारी छ । वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक स्पष्टतासहित पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडि बढाउँदै महाधिवेशनबाट पूर्णता दिइने नेकपाले जनाएको छ ।
 

See More On

सुझावित समाचार