भारतीय बजारमा किनमेल गरेर घर फर्किने क्रममा दुई नेपालीमाथि कुटपिट

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

छिमेकी मुलुक भारतमा घुमफिरसँगै किनमेल गर्न गएका कञ्चनपुरका दुई दाजुबहिनीमाथि कुटपिट भएको छ । दोधाराचाँदनी नगरपालिका- १०, प्रतिभा टोलका सन्दीप परियार र दीपिका परियारमाथि कुटपिट भएको हो ।

कुटपिटबाट सन्दीपको टाउको र दीपिकाको पेटसहित शरीरकाे केही भागमा चोट लागेको छ । घरमा फर्किएपछि स्थानीय अस्पतालमा उनीहरूले उपचार गराएका छन् । सीमावर्ती भारतीय बजारमा किनमेल गरेर घर फर्किने क्रममा नौजलियाडाम क्षेत्रमा कुटपिट भएको उनीहरूकाे भनाइ छ ।

भारतीय युवा समूहले आफूहरूलाई होच्याएर बोलेको र बैनीलाई जिस्क्याउन थालेपछि वादविवादसँगै भारतीय समूहले कुटपिट गरेको घाइते सन्दीपले बताए । उनले भने, ‘भारतीय पाँच–सातजना युवाको समूहले बहिनीलाई जिस्क्याउन थाले । मैले उनीहरूलाई यस्तो नगर्न आग्रह गरेँ ।  उनीहरूले मेराे कुरै नसुनी अचानक कुटपिट गरे । हामीमाथि उनीहरू मात्रै होइन, अरू गाउँले पनि आएर आक्रमण गर्न थाले । हामीले नेपालतिर भागेर ज्यान बचायाैँ ।’

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले यस घटनाका विषयमा प्रशासनले सुरक्षा निकायमार्फत बुझेर अघि बढ्ने बताए । सहायक प्रजिअ जोशीले घटनाको आधिकारिक जानकारी प्रशासनमा नआएकाले बुझेर सोहीअनुरूप समस्या समाधानतर्फ अग्रसर हुने जानकारी दिए ।
  

See More On

सुझावित समाचार